May 6, 2024, Monday
२४ बैशाख २०८१, सोमबार

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा ८ वटा रिट

काठमाडौं । प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयविरुद्ध हालसम्म सर्वोच्चमा ८ वटा रिट दायर भएका छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेपछि धेरै कानुन व्यवसायी रिट लिएर सर्वोच्च अदालत पुगेका हुन् ।

Advertisement

आइतबार राष्ट्रपतिबाट संसद विघटन स्वीकृत भएसँगै कानुन व्यवसायीहरु रिट लिएर सर्वोच्च पुगेका थिए । सर्वोच्चमा आइतबार ३ वटा रिट पेश भएका थिए भने सोमबार दिउँसो १ बजेसम्म थप ५ वटा रिट पेश भएको प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिएका छन् ।

आइतबार अधिवक्ता कञ्चनकृष्ण न्यौपाने, सुलभ खरेल र लोकेन्द्रबहादुर ओलीले रिट पेश गरेका थिए । सोमबार पनि अदालत खुलेपछि कानुन व्यवसायीहरु रिट लिएर पुगेका छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि यो निर्णय उल्ट्याउने अख्तियार न्यायालयसँग मात्र छ । त्यसैले विभिन्न कानुन व्यवसायीहरु प्रधानमन्त्री र राष्ट्रपतिलाई विपक्षी बनाएर संसद विघटनको निर्णयविरुद्ध सर्वोच्च अदालत पुगेका हुन् ।

संसद विघटनको विपक्षमा रहेका संविधानका जानकारहरूले अहिलेको संविधानले बहुमतप्राप्त प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार नदिएको बताउँदै आएका छन् ।