April 27, 2024, Saturday
१५ बैशाख २०८१, शनिबार

जनताले दिएको सार्वभौम अधिकार प्रयोग गर्नुपर्ने अवस्था आउन सक्छ- सभामुख सापकोटा

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले आवश्यक पर्दा जनताले दिएको सार्वभौम अधिकार प्रयोग गर्नुपर्ने अवस्था आउने बताउनुभएको छ । त्यो अधिकार के हो भन्नेबारे प्रष्ट पार्नुभएको छैन ।

Advertisement

आज संविधानविदहरूसँग छलफलका क्रममा उहाँले जनताले ३३४ जनालाई सार्वभौम अधिकार सुम्पेको र संघीय संसदको हैसियतले त्यो अधिकार आफूबाट अभिव्यक्त हुने दावी गर्नुभयो । ‘संविधान र प्रतिनिधि सभा नियमावली अनुसार म चल्नुपर्छ। नेपाली जनताले ३३४ जनालाई सार्वभौम अधिकार सुम्पिएका छन्।

संघीय संसद्को नेतृत्वको र प्रतिनिधि सभाको सभामुखको हैसियतले त्यो अधिकार म बाट अभिव्यक्त हुनुपर्छ,’ उहाँले भन्नुभयो ‘आवश्यक पर्दा देश, संविधान, लोकतन्त्र र नेपाली जनताको अधिकारका लागि मैले जनताले प्रदान गरेको अधिकार आवश्यक पर्दा प्रयोग गर्नुपर्छ।’ उहाँले संविधानमा सबै कुरा लेखिएको नहुने पनि बताउनुभयो ।

संविधान राष्ट्र र राष्ट्रिय हितका लागि भएकोले त्यसलाई केन्द्रविन्दूमा राखेर अगाडि बढ्ने पनि बताउनुभयो । संविधान र प्रतिनिधि सभा नियमावलीअनुसार आफू चल्नुपर्ने उहाँको भनाइ थियो। उनले पूर्वसभामुखहरूसँग र संविधानका विज्ञसँग छलफल गरेकोले अब पार्टीहरू र पत्रकारलगायत सँग पनि छलफल गर्ने बताउनुभयो ।

‘योजना र कार्यक्रम म भन्न सक्दिनँ। पार्टीहरूसँग नै छलफल गर्ने हो। पार्टी शक्तिका संवाहक मात्र होइन पावरहाउस पनि हुन्। जनताको शक्ति पार्टीमा पनि हुन्छ,’उहाँले भन्नुभयो । यसैबीच उनले सबैभन्दा धेरै राष्ट्रपति, प्रधानमन्त्री र सभामुखले संविधान पालना गर्नुपर्ने पनि बताउनुभयो ।