April 25, 2024, Thursday
१३ बैशाख २०८१, बिहीबार

निर्वाचन गराउन हरतवरले तयार छ : निर्वाचन आयोग

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको तयारी मङ्गलबारदेखि नै तीव्र तुल्याउने भएको छ । सरकारले घोषणा गरेको मितिमा निर्वाचन गर्न/गराउन आयोग भौतिक, प्राविधिक र व्यवस्थापकीय तवरले तयार रहेको आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

आयोगले वर्षेभर निर्वाचनसँग सम्बन्धित कुनै न कुनै कार्यक्रम गर्दै आएकाले तयारी नै रहेको बताउँदै उहाँले कानुन अनुरूप निर्णय गरी मङ्गलबारदेखि नै मतदाता नामावली दर्ता कार्य स्थगित गरिने जानकारी दिनुभयो । आयोगले कुन दिन के गर्ने भनी निर्वाचन कार्यतालिका लागि गृहकार्यका अतिरिक्त निर्वाचनका लागि आवश्यक निर्देशिका र कार्यविधि तयार गर्नेछ । साथै निर्वाचनका लागि आवश्यक पर्ने अनुमानित बजेट तर्जूमा गरी निकासाका लागि अर्थ मन्त्रालयलाई पत्रचार गर्नेछ ।

सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने गरी आजै मिति घोषणा गरिसकेको छ । यद्यपि साँझसम्म आयोगमा औपचारिकरूपमा जानकारी भने पुगि नसकेका बताइएको छ । केही दिनअघि मितिका सन्दर्भमा परामर्श दिने क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन तयारीका लागि प्रक्रिया अघि बढाउन आयोग पदाधिकारीलाई सुझाव दिँदै निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गराउन गृह मन्त्रीलाई निर्देशन दिनुभएको थियो ।

Advertisement