April 28, 2024, Sunday
१६ बैशाख २०८१, आईतवार

एमाले महाधिवेशनः प्यानल पेस गर्दै ओली, रावल र भुसालको आपत्ति

चितवन । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आज तेस्रो दिन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज बन्दसत्रमा १९ पदाधिकारीसहित ३०१ केन्द्रीय सदस्य, तीन आयोगका पदाधिकारी र सदस्यहरुको प्यानललाई निर्वाचित गर्ने प्रस्ताव पेस गर्दैछन् । शनिबारको बन्द सत्रले अध्यक्ष ओलीलाई विवादकाबीच पदाधिकारी र सदस्यहरु चयन गर्ने जिम्मा सुम्पिएको थियो ।

Advertisement

एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्ने र त्यसका लागि सर्वसम्मत नेतृत्व चयन गर्नुपर्ने भन्दै यसअघिका संगठन विभाग प्रमुख एवं अध्यक्ष मण्डलका सदस्य विष्णु पौडेलले सहमतिमा नेतृत्व चयन गर्ने प्रस्ताव बन्द सत्रमा गरेका थिए । त्यस क्रममा पौडेलले अध्यक्ष ओलीलाई केन्द्रीय कमिटी र केन्द्रीय निकायका सदस्यहरूको नाम प्रस्ताव गर्ने अधिकार दिन बन्दसत्रको हलमा प्रस्ताव गरेका थिए ।

उनको प्रस्तावलाई बन्दसत्रले अनुमोदन गरेको थियो । अध्यक्षको उम्मेदवार रहेका भीम रावल र उपाध्यक्षको उम्मेदवार रहेका घनश्याम भुसाल भने त्यो प्रस्तावको विरोध जनाएका थिए। ओलीनिकट एक नेताका अनुसार पदाधिकारीमा अध्यक्ष ओलीले वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, उपाध्यक्षमा सुवास नेम्वाङ, रामबहादुर थापा, बादल, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, भीम रावल र अष्टलक्ष्मी शाक्य, महासचिवमा शंकर पोखरेल, उपमहासचिवमा प्रदीप ज्ञवाली, टोपबहादुर रायमाझी र घनश्याम भुसाललाई ल्याउने तयारी गरेका छन् । अधिकांश प्रतिनिधिले उपहासचिव विष्णु पौडेलले प्रस्तुत गरेको प्रस्तावमा ताली बजाउँदा रावल र भुसालले आपत्ति जनाएका थिए । यसले केहीबेर बन्दसत्रमा हंगामा नै भएको थियो ।

केन्द्रीय सदस्य र ३ वटा केन्द्रीय आयोगहरू अनुशासन, लेखा र निर्वाचन आयोगका सदस्य बन्दसत्रको हलमा सिफारिस गर्न ओली आज विहानदेखि नै गृहकार्यमा लागेका छन् । ओलीलाई नेताहरू शंकर पोखरेल, विष्णु पौडेल र सुवासचन्द्र नेम्वाङ लगायतका नेताहरुले सघाइरहेका छन् । एमालेले आज नेतृत्व चयनको काम सक्ने र सोमवार बिहान चितवन घोषणापत्र जारी गरेर महाधिवेशन सम्पन्न गर्ने तयारी गरेको छ । पार्टीभित्र एकल वर्चश्व भएकाले ओलीलाई आफ्ना नीति, विचार र निर्णय अनुमोदनका लागि समस्या छैन । हिजोको बन्द सत्रले सर्वाधिकार दिएपछि उनी थप शक्तिशाली भएका छन् । अब सबै नेताहरु नेतृत्वमा समेटिनका लागि ओलीमै निर्भर छन् ।

पदाधिकारी र केन्द्रीय सदस्य बन्न चाहेका धेरै नेताहरु अझै पनि अलमलमा देखिएका छन् । आफू पार्टीको कुन कमिटी र पदाधिकारीमा परिने हो भन्ने व्यग्रता उनीहरुलाई छ । बन्दसत्रले सबै अधिकार अध्यक्ष ओलीलाई प्रदान गरेसँगै निर्वाचन नगरी नेतृत्व घोषणा गर्ने तयारी भएको हो । हिजोको बन्द सत्रले अध्यक्ष ओलीलाई केन्द्रीय समिति र पदाधिकारीका लागि नाम प्रस्ताव गर्ने जिम्मेवारी सुम्पिएको थियो । त्यसअनुसार ओलीले आफू निकटस्थहरुसँग परामर्शमा सूची बनाउने र बन्दसत्रमा पढेर सुनाउने तयारी गरिएको छ ।