April 25, 2024, Thursday
१३ बैशाख २०८१, बिहीबार

विकास ल्याउन एमाले नै चाहिन्छ : एमाले अध्यक्ष ओली

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश विकास गर्न नेकपा एमाले चाहिएको बताउनुभएको छ । उहाँले झापाको शिवसताक्षी नगरपालिका–८ झिलझिलेमा वाटर किङडम पार्कको आज उद्घाटन गर्नुहुँदै एक वर्षपछि एमालेको सरकार आउने र त्यसपछि पाँच वर्ष सत्तामा रहँदा विकास निर्माणको अहिलेसम्म नभएको लहर ल्याउने बताउनुभयो ।

उहाँले आउँदो निर्वाचनमा जनादेशबाट एमालेको एकल बहुमतको सरकार स्थापित हुने समेत दाबी गर्नुभयो । उहाँले आफू प्रधानमन्त्री भएको बेला सुरु गरिएका हजारौँ विकास निर्माणका आयोजना अहिलेको सरकारले बजेट नदिएर ठप्प तुल्याएको आरोप लगाउनुभयो ।

प्रदेश नं १ पर्यटकीय दृष्टिले समृद्ध रहेको चर्चा गर्दै उहाँले पर्यटन विकासका लागि पचासौँ करोड लगानी हुनु खुसीको विषय भएको बताउनुभयो । कोभिडका कारणले केही समय अन्योल सिर्जना हुँदा निराश नहुन भन्दै उहाँले समयक्रममा पर्यटक आउने दिनको प्रतीक्षा गर्न आग्रह गर्नुभयो । दुई बिघा जग्गामा फैलिएको वाटर पार्कमा स्थानीय उद्यमी राजकुमार सङ्ग्रौला र उहाँको परिवारको रु ५० करोड लगानी रहेको छ ।

Advertisement