May 7, 2024, Tuesday
२५ बैशाख २०८१, मंगलवार

केपी ओली अहिलेको अवस्थाको मुख्य जिम्मेवार होः नेपाल

काठमाडौं । नेकपाको दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमलाई सर्वोच्च अदालतको फैसलाले असंवैधानिक ठहर्याउने आफुहरुले आशा लिएको बताएका छन् ।

Advertisement

नेपाल बुद्धिजीवी संगठनद्वारा काठमाडौंमा आयोजित ‘प्रतिनिधिसभा विघटनः प्रतिगामी कदम’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले केपी ओलीको तीव्र आलोनचा गर्दै यस्तो प्रतिक्रिया दिएका हुन् ।

‘उहाँले काम गर्न दिइएन भन्दै हुनुहुन्छ । उहाँलाई मनपरी काम गर्दा पनि पुगेन सबै शक्ति आफ्नो हातमा लिँदा पनि पुगेन । सत्ताको दुरुपयोग गर्दा पनि पुगेन । उहाँले लोकतान्त्रिक परिपाटीलाई नै लत्याएर अघि बढ्न खोज्नुभयो । उहाँले जथाभावी नियुक्ति गर्नेदेखि लिएर गलत काम गर्दै हिँड्नुभयो । पदका निम्ति अयोग्यहरुलाई छानेर अघि बढ्नुभयो,’ उनले भने ।

आफूहरु (पुष्पकमल दाहाल, झलनाथ खनाललगायत) केपी ओलीको दास नभएको बताउँदै पार्टीमा विधि, पद्धतिका बारेमा छलफल गरौं भन्दा ओलीले नमानेको गुनासो गरे ।

‘राष्ट्रिय सरोकारका विषयमा, जनसरोकारका विषयमा छलफल गरौं भन्यौं । हामीले उहाँको हरेक कदममा साथ नदिनु नै हाम्रो अपराध हो र ? उहाँको शैली नै तानाशाही र निरंकुश भएकाले हामीले निस्सासिएर आवाज उठाएका हौं । समस्या उहाँको चिन्तन र कार्यशैलीमा नै देखिएको हो । उहाँको कार्यशैलीबाट पार्टीका नेता कार्यकर्तामात्रै होइन, प्रतिपक्षी पनि पीडित भए । उहाँले प्रधानमन्त्री पदको गरिमा राख्न सक्नुभएन । सानो गुटमा रमाउनुभयो । आफ्नो भजन गाउनेहरुलाई मात्रै समातेर अघि बढ्नुभयो । उहाँ विधान मान्नुहुन्न, बहुमत मान्नुहुन्न । उहाँ त आफ्नो निर्णय नै सर्वेसर्वा भन्नुहुन्छ । व्यवस्थामा त सबैले बस्न सक्नुपर्छ नि,’ नेपालले भने ।

संविधानमाथि कू भएको बेला चुनावको औचित्य नहुने पनि नेपालले तर्क गरे । उनले भने, ‘उहाँले भनेको चुनाव कुनै पनि हालतमा हुँदैन । भ्रममा नपरे हुन्छ कोही पनि । केपी ओली नै अहिलेसम्मको अवस्थाको मुख्य जिम्मेवार हो । उहाँलाई ५ वर्षकै प्रधानमन्त्री भनेर हामीले जिम्मेवारी दिएका थियौं । तर त्यसको अवमूल्यन गरियो । उहाँ बदलाको भावना लिएर हिँड्ने मानिस हो । उहाँले पार्टीको नेतृत्व लिएपछि ध्वस्त बनाउनुभयो । मदन भण्डारी फाउन्डेसनको नाममा उहाँले गुट चलाउनुभयो ।’

संविधानको कुनै धारामा प्रतिनिधिसभा विघटन गर्ने व्यवस्था नगरिएको उनले तर्क गरे । ‘दुई वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नमिल्ने प्रावधान पनि थियो । हुँदै नभएको धारा राखेर अनि अन्तर्राष्ट्रिय अभ्यास लगायतका कुराहरु राखेर उहाँले विघटन गरेँ भन्नुहुन्छ । त्यसैले लोकतन्त्र र स्थायित्वमाथि प्रहार गर्ने काम जुन भएको छ, यो असंवैधानिक कदम हो । यसका विरुद्ध डटेर सामना गर्नुपर्ने बेला आएको छ । कम्युनिस्ट आन्दोलनलाई तहसनहस गर्ने काम गरिएको छ । आन्दोलनको ज्वारभाटा ल्याउनुपर्ने बेला अहिले आएको छ । नेकपाको आधिकारिकता हाम्रै हो । ओली नेकपाका अध्यक्ष होइनन्, उनको गुट हो त्यो । अब उहाँको गतिविधि हेर्दा थप कारवाही गर्नुपर्ने देखिएको छ ।’

केपी ओलीले विश्राम लिनुपर्ने तर्क गर्दै नेपालले ओलीको बोझ यो देशले बोक्न नसक्ने टिप्पणी गरे ।