May 16, 2024, Thursday
३ जेष्ठ २०८१, बिहीबार

संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि आजदेखि जवाफी बहस सुरु

काठमाडौ।  प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि आजदेखि जवाफी बहस सुरु भएको छ ।रिट निवेदकले जवाफी बहस गरिरहेका सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिनुभयो ।

Advertisement

प्रधानमन्त्री केपी शर्मा ओलीकातर्फबाट कानुन व्यवसायीले गएको बिहीवार बहस सकेपछि आजदेखि उहाँकातर्फबाट बहस गरेका कानुन व्यवसायीले उठाएका प्रश्नको जवाफ रिट निवेदकका तर्फबाट वकिलहरुले जवाफ दिन लागेका हुन् ।

सुनुवाइ अदालतको संवैधानिक इजलासमा भइरहेको छ । इजलासमा प्रधानन्यायाधिश जबराको नेतृत्वमा न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्ह्वा, सपना प्रधान मल्ल र तेजबहादुर केसी रहेका छन् ।प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गएको पुस ५ गते संसद विघटन गरेपछि त्यसविरुद्ध परेको मुद्दामा बहस भइरहेको छ ।

रिट निवेदकहरुले संविधान विपरीत प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेको दाबी गरेका छन् भने प्रधानमन्त्रीका तर्फबाट बहस गर्ने कानुन व्यवसायीले भने प्रधानमन्त्रीले आफ्नो अधिकार प्रयोग गरेको दाबी गरेका छन् । जवाफी बहस सकिएपछि एमिकस क्यूरीमा रहेका पाँच जनालाई आफ्नो कुरा राख्न समय दिइनेछ । एमिकस क्यूरीले आफ्नो राय राखेपछि त्यसको केही दिन समय लिएर सर्वोच्च अदालतले फैसला गर्नेछ ।