May 17, 2024, Friday
४ जेष्ठ २०८१, शुक्रबार

अध्यक्ष ओलीद्वारा देशभक्त नागरिकको मुख थुन्ने प्रयास नगर्न सरकारलाई चेतावनी

नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशभक्त नागरिकको मुख थुन्ने प्रयास नगर्न सरकारलाई चेतावनी दिएका छन् ।

Advertisement

सोमबार युवा संघको भेलालाई सम्बोधन गर्दै ओलीले तुइतबाट मान्छे खसाल्दा, नेपाली आकाशमा हेलिकोप्टर उडाउँदा चुइँक्क बोल्न नसक्नेहरुले देशका लागि बोल्ने युवाको मुख थुन्न, गिरफ्तार गर्ने काम नगर्न चेतावनी दिएका हुन् ।

“तुइनबाट मान्छे खसालिन्छ । बेपत्ता हुन्छ । तपाईंहरु बोल्नुहुन्न । अमेरिकाले अफगानिस्तान पहिल्यै छाडेको थियो । हेरेर बस्नुभयो । उद्धार गर्नुभएन,” ओलीले भने,“यो टालाटुली बटुली, कति राम्री पुतली जस्तो सरकार टालै टाला भयो ।”

भारत भन्न वर्तमान सरकारको सातो गएको ओलीको भनाइ थियो । “विकास गर्न नसक्ने, दशौँ हेलिकोप्टर उडाउँदा किन यसो गरेको भनेर सोध्न पनि नसक्ने, नेपालीको अफगानिस्तानबाट उद्धार गर्न नसक्ने, तुइनबाट नेपाली झारिन्छ, प्रतिवेदन आउँछ तर बोल्न सक्दैन । भारत भन्न सक्दैन । सात्तो जान्छ । नेपाल सरकारले भारतलाई थाहा दिन सक्दैन यसो भयो भनेर । नागरिक मारिँदा चुइँक्क बोल्न सक्दैन अनि सडकमा लाठी लिएर आउने बोल्ने देशभक्त युवाविरुद्ध लाग्छ ?” उनले आक्रोश पोखे ।

वर्तमान सरकारको चाल ‘घरको बाघ, वनको स्याल’ जस्तै भएको ओलीले टिप्पणी गरे । “देशका लागि बोल्ने, राष्ट्रियताको पक्षमा बोल्न दिइँदैन, गिरफ्तार गरिन्छ । तर, नेपालीमाथि भएको ज्यादतीमा चुइँक्क बोल्न सक्दैन । एउटा पार्टी भए त बोल्न सक्दैन भन्न हुन्थ्यो । पाँच-पाँच वटा छन् । किन नबोलेको ? धाकधक्कु त साना छैनन् । नक्कली कुरा कम छैन तर चुइँक्क बोल्दैनन्,” उनले भने ।

ओलीले सभामुख अग्निप्रसाद सापकोटामाथि पदीय नैतिकताको प्रश्न उठाएका छन् । माधवकुमार नेपालसहित १४ जना सांसद्को कारबाही सिफारिस रोकेको विषयमा ओलीले सभामुखमाथि आक्रोश पोखे ।

उनले कारबाहीको सूचना भित्तामा टाँस्ने कर्तव्य पूरा नगरेर सभामुखले जालझेल र फटाइँ गरेको आरोप लगाए ।

“सभामुख हो कि कुनै पार्टीको कार्यकर्ता हो ? कि गठबन्धनको मतियार हो ? कि एमालेविरुद्ध काम गर्ने मोहरा हो ? के हो तपाईं ? ओलीले प्रश्न गरे । प्रमुख प्रतिपक्षी पार्टी फुटाउने षड्यन्त्राको भागिदार, अंग भएर निष्पक्ष सभामुखको भूमिका निर्वाह र त्यही सभामुखबारे गम्भीर प्रश्न उठेको उनको भनाइ थियो ।