May 2, 2024, Thursday
२० बैशाख २०८१, बिहीबार

सरकार र प्रमुख प्रतिपक्षीबीचको संवाद हुनु सकारात्मक : नेता गौतम

नेकपा (एमाले) का स्थायी कमिटी सदस्य राजेन्द्र गौतमले सङ्घीय संसद्मा जारी गतिरोध खुलाउन प्रधानमन्त्री शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच संवाद सुरु हुनु सकारात्मक पक्ष रहेको बताउनुभएको छ ।

Advertisement

प्रतिनिधिसभा सदस्य गौतमले सत्ता गठबन्धनले राष्ट्रिय राजनीतिमा प्रमुख प्रतिपक्षको महत्व र आवश्यकता बुझ्न थालेकाले संसद्को गतिरोधका लागि निकासको बाटो खोजिने सम्भावना बढेको बताउनुभयो । एमालेको आठौँ सङ्खुवासभा जिल्ला अधिवेशनको उद्घाटन र बन्दसत्रस्थलको निरीक्षणका क्रममा नेता गौतमले पत्रकारहरुसँग कुरा गर्दै भन्नुभयो, “सरकारले एमालेले संसद्मा उठाउँदै आएको विषयलाई सुनुवाइ गर्ने सोचमा रहेको देखिएको छ । यो सकारात्मक कुरा हो । हामीले उठाएका सवाललाई कसरी सम्बोधन हुन्छ, त्यसका आधारमा एमालले धारणा बनाउनेछ ।” शनिबार प्रधानमन्त्री देउवाले अध्यक्ष ओलीलाई उहाँको निवास बालकोटमा भेटवार्ता गर्नुभएको थियो ।

उहाँले एमालेले कारबाहीका लागि सिफारिस गरेका १४ सांसदलाई कारबाही नगरिदिएकाले सभामुखले या त गल्ती स्वीकार्नुपर्ने या पदबाट राजनीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने आफूहरुको अडान कायम रहेको स्पष्ट गर्नुभयो । यसअघि सभामुख अग्निप्रसाद सापकोटा तथा प्रधानमन्त्री देउवाले बोलाउनुभएको अलग अलग सर्वदलीय बैठकमा एमाले अनुपस्थित भएको थियो । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज परियोजना (एमसिसी)का विषयमा सोधिएको प्रश्नमा नेता गौतमले एमालेले उक्त सम्झौतालाई परिमार्जनसहित पारित गराउने कुरा गर्दै आएको र यसबारे सरकारको धारणा आएपछि मात्रै एमालेले आफ्नो नीति बनाउने जनाउनुभयो ।

एमालेका प्रदेश नं १ का अध्यक्ष तुल्सीप्रसाद नेउपानेले प्रदेशका जिल्लाहरुमा सहमतिमा नेतृत्व चयन हुन थालेको र सङ्खुवासभामा पनि सहमतिमा हुने जानकारी दिनुभयो । एमालेका सङ्खुवासभा जिल्ला अध्यक्ष जीतबहादुर घिमिरेले सोमबार एमालेका अध्यक्ष ओलीबाट खाँदबारी नगरपालिका–१ स्थित टुँडिखेलमा उद्घाटन गर्ने र बन्दसत्र खाँदबारी–३ कृषि बजारमा हुने जानकारी दिनुभयो । जिल्ला अधिवेशनमा आयोजकसहित एक हजार प्रतिनिधि सहभागी हुनेछन् ।