May 20, 2024, Monday
७ जेष्ठ २०८१, सोमबार

एक दुई पात पहेँलिएर खस्दैमा रुखलाई केही फरक पर्दैन: केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाललाई ‘कुलङ्गार नेता’ को संज्ञा दिएका छन् ।

Advertisement

शनिबार युथफोर्सले आयोजना गरेको कार्यक्रममा उनले भने ‘एक दुई पात पहेँलिएर खस्दैमा रुखलाई केही फरक पर्दैन । रुखमा नयाँ नयाँ पालुवा पलाउँदैछन् । नयाँ नयाँ हाँगा हाल्दैछन् । उनले एमालेलाई षड्यन्त्रपूर्वक सरकारबाट हटाइएको भन्दै अब आउने चुनावमा सबै षड्यन्त्रको हिसाब लिने बताए । ‘अब कुनै पनि निर्वाचन क्षेत्रमा अरुलाई जित्न दिँदैनौं’ ओलीले भने ।

ओलीले पार्टी फुटेको नभई केही बिग्रिएका मान्छेले पार्टी छाडेको बताए । ‘केही मान्छे पतीत भएका हुन् बिग्रिएका हुन् । बिग्रिएका मान्छेले पार्टी छोडेका हुन्’ उनले भने । नव गठित नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष नेपालप्रति आक्रामक रुपमा प्रस्तुत भएका ओलीले भने ‘रुखबाट केही पातहरु खस्दैमा नयाँ पालुवा उम्रिन रोकिँदैन । पालुवाहरु पलाइरहेका छन्।’

उनले महासागरजत्रो पार्टीमा पौडी खेल्न पुगेन भनेर खाल्डो खनेको बताए । माधव नेपाललाई ‘कुलङ्गार नेता’ को संज्ञा दिँदै उनले भने, ‘महासागरजत्रो पार्टी छ, पौडी खेल्न पुगेन भनेर खाल्डो खन्छन् । कोही मान्छेलाई सानै भएपनि आफ्नो घरको राजा हुन मन लाग्छ ।’

उनले माधव नेपाल प्रतिक्रियावादीसँग मिलेको भन्दै त्यस्ता मान्छे पार्टीबाट बाहिरिएर कुनै फरक नपर्ने बताए । ‘एमाले सिध्याउँछु भनिसकेपछि, देशलाई अप्ठ्यारोमा पार्छु भनिसकेपछि सम्झाएर हुन्छ ?’

उनले भने, ‘हामीले सम्झाउन खोज्यौँ । बुझाउन खोज्यौं । मैले बिसौपटक फोन गरेँ । जहाँ जहाँ भन्यो त्यहीँ धाएर भेटेँ । नराम्रो कुरा भइसक्यो, अब चिन्ता गरेर बस्ने होइन । एक दुईवटा पात खस्दैमा रुख पीर मानेर बस्दैन।’उनले अबको चुनावमा प्रतिस्पर्धीहरु हुने तर प्रतिस्पर्धा नहुने भविष्यवाणी गरे ।

‘चुनावमा उठेपछि प्रतिस्पर्धी हुन्छन् । तर अबको चुनावमा एमालेको कसैसँग प्रतिस्पर्धा हुँदैन,’ ओलीले भने, ‘एमालेबाट को उम्मेदवार बन्छ, अहिले थाहा छैन, तर जो उठे पनि जित्छ । हामीले प्रतिस्पर्धा हुन दिने नै होइन ।’

ओलले माधव नेपालको पार्टीसँग केन्द्रिय समितिका ५५ र संसदीय दलका २९ बाहेक अरु मान्छे नभएको बताए ।