May 14, 2024, Tuesday
१ जेष्ठ २०८१, मंगलवार

ओलीका कारण एकता सम्भावना सकियो, नयाँ पार्टी बनाउँछौ- माधवकुमार नेपाल

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी पुनर्गठन गर्ने अवस्थामा आफूहरू पुगेको बताएका छन्। मंगलबार अपरान्ह भर्चुअल बैठकमा सम्बोधन गर्दै नेता नेपालले जनताको विश्वास जित्ने गरी काम गर्न नेता तथा कार्यकर्तालाई अपिल गर्दै नआत्तिन भनेका छन्। नेपालले अब नयाँ पार्टी गठन गर्नुपर्ने बाध्यता आइसकेको भन्दै केपी ओलीका कारण एकता सम्भावना सकिएको घोषणा गरेका हुन ।

Advertisement

नेता नेपालले पार्टीमा दुई नेताबीच विवाद नभएर दुई विचार समूहको विवाद रहेको बताएका छन् । कार्यक्रममा बोल्दै उनले ओली प्रवृत्तिका विरुद्ध विद्रोहको झण्डा उचालेको बताए । नेता नेताले एमालेलाई ओलीले आफ्नो प्राइभेट कम्पनी बनाउन खोजेपछि आफ्नो समूहले विद्रोह गरेको उल्लेख गरे । नेपालले जनताको विश्वास जित्ने गरी काम गर्न नेता तथा कार्यकर्तालाई अपिल गर्दै नआत्तिन भनेका छन्।

‘पार्टी पुनर्गठन गर्ने अवस्थामा पुगेका छौं। क्रान्तिकारी पार्टी बनाइने हो। यो जनताको प्यारो शक्ति हुनेछ,’ नेता नेपालले भने, ‘अहिले अरू पार्टीसँग सहकार्य गर्ने सम्भावना छैन। तर हामी वामपन्थी शक्तिहरूलाई समेटेर जान्छौं।’‘केपी ओलीले पार्टी एकताको ढोका बन्द गरिसक्नुभएको छ। मलाई गद्दार र देशद्रोहीको उपाधि दिनुभएको छ। उहाँ पार्टी विभाजन गर्न उद्दत हुने दोष हामीलाई दिने?,’ नेता नेपालले प्रश्न गरे।

ओलीले आफूसहित १४ सांसदलाई कारबाही गरेकोमा यसबाट विचलित नहुने नेपालले बताए। ‘कारबाहीबाट विचलित हुने छैनौं। नयाँ पार्टी खोले पनि केपी ओलीले गल्ती स्वीकार गरेर आए अहिले, भोलि, तीन महिना, छ महिना, चुनाव अघि वा पछि पनि एकता हुन सक्छ। तर सही विचारमा आधारित भएर मात्रै,’ उनले भने।

उनले ओली अहङ्कारको घोडामा सवार भएकोले अहिले पार्टी विभाजनको मोडमा पुगेको बताए । उनले आफू पार्टी एकताको पक्षमा रहे पनि ओली विभाजनको पक्षमा लागेको बताए । नेता नेपालले भने–‘पार्टीलाई सुदृढ एकता, सशक्त बनाउने, योग्यता क्षमताको आधारमा जिम्मेवारी दिने कुरमा ओलीको ध्यान गएन । उहाँको ध्यान सानो गुट मदन भण्डारी फाउन्डेसनमा केन्द्रित भएको छ । पार्टीको बारेमा चिन्ता छैन गुटको चिन्ता छ । उहाँ आफ्नो पद जोगाउन लाग्नुभएको छ ।

उहाँहरूको प्रत्येक अभिव्यक्ति वाणी सुन्नुभएको छ भने उहाँमा आत्मालोचनाको बानी छैन । अरू माथि लान्छना लगाउने, सबै दोष अरूको हो भनेर औँला ठड्याउने सबैलाई होच्याउने आफूलाई सर्वाधिकार ठान्ने बानी रहेको छ । उहाँको अहङ्कारबाट यो पवित्र पार्टी गुज्रिरहेको छ ।’ नेपालले भने, ‘अब पार्टीको क्रान्तिकारी पुनर्गठन गर्छौ र नेपाल कम्युनिष्ट पार्टीलाई क्रान्तिकारीकरण गर्छौं । अहिले नयाँ दल दर्ता गरे पनि हामी तत्कालै अरु पार्टीसँग एकीकरण गर्दैनौं । ओली सुध्रिए भने त्यसपछि पनि एकता हुन सक्छ र चुनावमा सिट बाँडेर लड्न सकिन्छ ।’