May 10, 2024, Friday
२८ बैशाख २०८१, शुक्रबार

सकियो माधव समूहको केन्द्रीय कमिटी बैठक: ओली नसुध्रिए अर्को पार्टी बनाएर जानुपर्ने अधिकांश सदस्यहरूको जोड

नेकपा एमालेको माधव नेपालपक्षीय केन्द्रीय कमिटी बैठक केहीबेरलाई स्थगित भएको छ ।

Advertisement

बैठकमा पहिलो दिन २३ र दोस्रो दिन ३२ जना गरी जम्मा ५५ जनाले पार्टी एकताबारे धारणा राखेपछि केन्द्रीय सदस्यहरूले बोल्ने क्रम सकिएको हो । बैठकमा बोल्ने अधिकांश सदस्यहरूले सम्मानजनक एकता हुनुपर्ने धारणा राखेका थिए ।

ओलीलाई हटाउन नसके र उनी नसुध्रिए अर्को पार्टी बनाएर जानुपर्ने कुरा बैठकमा उठेको एक नेताले बताए  । दशबुँदे सहमतिले एकताको आधार तयार पारे पनि त्यसपछिका निर्णयहरुले एकता बिथोल्ने काम भएको नेताहरुले बताएका थिए ।

विशेष गरी ओलीले एक्लौटी बैठक राखेर निर्णय गर्ने, गम्भीर आरोप लगाएर सार्वजनिक अभिव्यक्ति दिने क्रम नरोकिँदा इमान्दार एकताको पक्षमा नरहेको पुष्टि हुने नेताहरुको भनाइ थियो ।

ओलीलाई एक साताभित्र सार्वजनिकरूपमा माफी मागेर पार्टी एकताको लागि वातावरण बनाउन डेडलाइन दिइने एक नेताले बताए  । तलैसम्म पार्टीका समानान्तर गतिविधिहरू चलाउने र सरकारमा पनि जाने उनले बताए ।

केन्द्रीय समिति बैठक स्थगित गरेर माधव समूहको स्थायी समिति बैठक सुरु भएको छ । स्थायी समिति बैठकमा केन्द्रीय सदस्यहरूले राखेको धारणाको कस्तो जवाफ दिने भन्ने छलफल हुनेछ । छलफलपछि नेता माधव कुमार नेपालले एकमुष्ट जवाफ दिने तयारी गरेको बुझिएको छ ।