May 20, 2024, Monday
७ जेष्ठ २०८१, सोमबार

ओलीलाई माफी मागेर पार्टी एकतामा आउन अन्तिम मौका- मेटमणि चौधरी

नेकपा एमाले असन्तुष्ट समूहका केन्द्रीय सदस्यहरुले केपी शर्मा ओलीलाई अध्यक्ष स्वीकार गरी निर्वाचनमा जान नसकिने बताएका छन् ।

Advertisement

बिहीबार बानेश्वरको क्वालिटी बैकैंटमा बसेको असन्तुष्ट समूह निकट केन्द्रीय सदस्यको बैठकमा आफ्नो धारणा राखेका केन्द्रीय सदस्यहरुले ओलीलाई अध्यक्षका रुपमा स्वीकार गरेर निर्वाचनमा भोट माग्न नसकिने भएकाले ओलीको बहिर्गमन हुनुपर्ने माग राखेका हुन् । नेता मेटमणि चौधरीले अध्यक्ष केपी शर्मा ओलीले आफ्ना गल्तीप्रति क्षमा याचना गरे मात्र पार्टी एकता हुने बताएका छन्।

शुक्रबार केन्द्रीय समितिको बैठकपछि बोल्दै उनले ओलीलाई हटाउन नसके र उनी नसुध्रिए अर्को पार्टी बनाएर जानुपर्ने कुरा बैठकमा उठेको बताए। ओलीलाई एक साताभित्र सार्वजनिक रूपमा माफी मागेर एकताको लागि वातावरण बनाउन अन्तिम मौका दिइने उनले बताए।

ओलीले पार्टीमा र्पुयाएको क्षति, प्रतिनिधिसभा विघटन र हालसम्म गरेका गल्तीका लागि माफी माग्न समय दिने तयारी गरिएको चौधरीले जानकारी दिए। चौधरीले केन्द्रीय कमिटीको बैठकमा सरकारमा जाने र पार्टी एकताको प्रयास जारी राख्ने बारेमा छलफल भएको बताए। तर, ओलीको नेतृत्वमा एकता हुन नसक्ने धेरैको मत रहेको उनले बताए। नेता नेपालले साउन २४ गते सम्म एकताको काम सक्न वार्ता टोलीका नेतालाई निर्देशन दिएको उनले बताए।

‘निर्वाचनमा गइसकेपछि हामीले कसरी भोट माग्ने, कुनै आधार नभएकाले पहिले ओलीको बहिर्गमन हुनुपर्छ। कि ओली नेकपा एमालेमा रहनु भएन कि ओलीलाई हटाउनुपर्यो। यदि हामीले ओलीलाई हटाउन नसकेमा नयाँ पार्टी बनाएर पनि जानुपर्छ,’ बैठकमा नेताहरुको भनाइ उद्धृत गर्दै केन्दीय सदस्य ठाकुर गैरेले भने । साथै अध्यक्ष ओलीले अहिलेसम्म गरेका गल्ती स्वीकार गरी सार्वजानिक रुपमा माफी नमागेसम्म पार्टी एकता नहुने असन्तुष्ट समूहको दाबी रहेको छ ।‘

ओलीसँग एकता हुन प्रायः सम्भव छैन भन्ने केन्द्रीय सदस्यहरूको धारणा रह्यो । यो सबै केपी ओलीले झुटो बोलिरहेका छन् । उनी एकताको पक्षमा छैनन् । यसको भ्रममा नपरौँ भन्ने एकथरी केन्द्रीय सदस्यहरुको भनाइ थियो,’ बैठकबारे जानकारी दिँदै नेता जगन्नाथ खतिवडाले भने । खतिवडाका अनुसार सबै केन्द्रीय सदस्यहरूले मूलत: तीन वटा विषयलाई प्राथमिकता दिएका थिए ।

पहिलो, एकता भए सम्मानजनक र सह अस्तित्वका आधारमा हुनुपर्ने साथै आफ्नो पक्षले पनि जितेको देखिने गरी एकता हुनुपर्ने । दोस्रो, केपी ओलीसँग एकता हुन प्रायः सम्भव छैन । र, तेस्रो कार्यदलले गरेको मिहिनेत अपुरो छ । १० बुँदे सहमतिले आफूहरूको आकाङ्क्षा र एकतालाई विकसित गर्दैन । यसलाई पूर्ण बनाएर समग्रमा सम्झौता गर्नुपर्छ नत्र पुरानै दलदलमा फस्ने मात्र देखिन्छ ।