May 20, 2024, Monday
७ जेष्ठ २०८१, सोमबार

आरोप प्रत्यारोप अन्त्य गरेर पार्टी एकतामा जोड दिने माधव समूहकाे निर्णय

नेकपा एमालेको माधव नेपाल समूहले पार्टी एकतामा जोड दिने निर्णय गरेको छ । सोमबार काठमाडौंमा बसेको नेपालसमूहको स्थायी कमिटी सदस्यको बैठकले आरोप प्रत्यारोपलाई अन्त्य गरेर पार्टी एकतामा जोड दिने निर्णय गरेको नेता रघुजी पन्तले जानकारी दिए ।

Advertisement

उनले मुल कुरा पार्टीको एकता नै भएको भन्दै आपसी मतभेदलाई हटाउदै एकताका लागि गम्भीरतापूर्वक लाग्ने बताए । बैठकले पार्टी एकताका लागि भईरहेको प्रयासलाई बिथोलिने गरी अभिव्यक्ति नदिन पार्टीका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपाललाई आग्रह समेत गरेको छ ।

बैठकले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच छिट्टैै भेट हुने विश्वास पनि व्यक्त गरेको छ । शिर्ष नेताहरुलाई भेटघाटका लागि आग्रह गरिएको पनि नेता पन्तले जानकारी दिए । एमालेभित्रको विवाद समाधानका लागि माधव नेपाललाई दोस्रो अध्यक्ष बनाउने प्रस्ताव ओली समूहका नेताहरुले अगाडि सारेका छन् । यो प्रस्तावमा माधव नेपाल समूहका केही नेताहरु सहमत देखिएपनि नेता नेपालले स्वीकार गरिसकेको अवस्था छैन ।

वरिष्ठ नेता नेपालले १० बुँदे सहमति अमूर्त भएको भन्दै ठोस सहमतिको प्रस्ताव ल्याउन भनेका छन् । दोस्रो तहका नेताहरुले त्यस्तो प्रस्तावको ड्राफ्ट समेत तयार पारिसकेको र अबको केही दिनमै दुई अध्यक्षतात्मक प्रणाली रहने गरी सहमति जुट्ने नेताहरुको दावी छ। साथै पार्टी एकताका लागि भइरहेको प्रयासलाई बिथोलिने गरी अभिव्यक्ति नदिन पार्टीका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपाललाई आग्रह गरेको छ ।

‘सबै नेताहरुले पार्टी एकतामा जोड दिने कुरामा सहमति जनाएका छन्,’ बैठकपछि नेता रघुजी पन्तले भने, ‘दुवै पक्षका शीर्ष नेताहरुले पार्टीको एकताका लागि भएका प्रयासहरुलाई बिथोलिने गरी अभिव्यक्ति दिनु भएन ।’

उनले अघि भने, ‘नेकपा एमालेका देशभरिका कार्यकर्ता, मतदाता र मुलुकको राष्ट्रियता र लोकतन्त्रलाई माया गर्ने जनता एमालेको एकता चाहन्छन् भन्ने आत्मबोध गरिएको छ । त्यसैले पार्टी एकतालाई गम्भीरतापूर्वक अघि बढाउँदै सफल बनाउनुपर्छ भन्नेमा जोड दिइएको छ ।’