May 20, 2024, Monday
७ जेष्ठ २०८१, सोमबार

माओवादीले समर्थन फिर्ता लिए, कांग्रेस सरकार गठन गर्न अग्रसरता लिन्छ: सभापति देउवा

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता नलिएसम्म नयाँ सरकार गठनको सम्भावना नभएको बताएका छन्।

Advertisement

आइतबार नुवाकोटका साहित्यकार श्रीराम श्रेष्ठद्वारा लिखित खोजमुलक संस्कृतिक ग्रन्थ ‘नेपाली जनजातीय संस्कार र संस्कृति’ लोकार्पण गर्दै सभापति देउवाले माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नदिएसम्म नयाँ सरकार गठन हुन नसक्ने बताएका हुन।

साथै देउवाले प्रधानमन्त्री हुने अवस्था आए आफू तयार रहेको बताएका छन।

देउवाले सरकारको नेतृत्व लिनुपर्ने अवस्था आएमा नभाग्ने बताए।‘प्रधानमन्त्री बन्न हामी लालायित छैनौं। तर हामीले नै सरकारको नेतृत्व गर्नुपर्ने परिस्थिति आयो भने पछाडि हट्दैनौं,’ उनले भने । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नगरेका कारण सरकार बहुमतकै अवस्थामा रहेकाले बहुमतको सरकारसँग निहुँ नखोज्ने पनि सभापति देउवाले बताए ।

‘प्रचण्डजीहरुले समर्थन फिर्ता लिनु भएको छैन । त्यस मानेमा बहुमतकै सरकार छ अहिले । बहुमतको सरकार भएको बेलामा हामीले अरु कुनै कुरा सोच्ने कुरा छैन,’ उनले भने, ‘त्यसकारण हामीले बहुमतकै सरकार मानेका छौं । बहुमतको सरकारमा हामीले निहुँ खोज्ने कुरा छैन । हामीलाई प्रधानमन्त्री चाहियो भनेर मरिमेट्ने कुरा पनि छैन ।’

अहिलेको राजनीति एकदमै तरल अवस्थामा रहेकाले भोलि जे पनि हुनसक्ने समेत बताए। नयाँ सरकार गठनका लागि माओवादी केन्द्रले तत्काल सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने बताउँदै पत्रकारहरुसँग भने, ‘सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादी केन्द्र अलग भएका छन्। ओली र प्रचण्डबीच द्वन्द्व देखिएको छ।

तर, अहिलेसम्म माओवादीले किन समर्थन फिर्ता लिएको छैन? यसमा शंका छ। ओली अहिले पनि सुविधाजनक बहुमतमै छन्। अल्पमतमा छैनन्। माओवादीले अविश्वासको प्रस्ताव लिएमा कांग्रेस सरकार गठन गर्न अग्रसरता लिन्छ।’