March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

देउवाद्वारा राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त नगरेको भन्दै आक्रोश व्यक्त

काठमाडौं ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूले प्रतिनिधिसभामा कायम सदस्य संख्याको स्पष्ट बहुमतसहित प्रधानमन्त्रीमा दाबी प्रस्तुत गरेको बताउनु भएको छ ।

Advertisement

आज एक प्रेस विज्ञप्ति निकालेर देउवाले राष्ट्रपतिबाट आह्वान भए अनुसार आफूले १ सय ४९ जना सांसदका हस्ताक्षर पेश गरे पनि आफूलाई प्रधानमन्त्रीमा नियुक्त नगरेको भन्दै आक्रोश व्यक्त गर्नु भएको छ ।

नेपालको संविधान बमोजिम राष्ट्रपतिले आफूलाई प्रधानमन्त्रीमा नियुक्त गर्नु पर्नेमा त्यसलाई अस्विकार गर्दै एकपटक प्रतिनिधि सभाबाट विश्वासको मत लिन असफल भइ संसदमा स्पष्ट अल्पमतमा परिसकेका र अर्को पटक बहुमत देखाउन नसक्ने घोषणा गरेका ओलीलाई प्रधानमन्त्री नियुक्त गर्ने काम असंवैधानिक, अलोकतान्त्रिक, अधिनायकवादी र सर्वसत्तावादी भएको विज्ञप्तिमा भनिएको छ ।

यस्तै उहाँले वर्तमान सरकार गठनपछि निरन्तर रुपले गैर संवैधानिक र अलोकतान्त्रिक गतिविधि गर्दै लोकतान्त्रिक मूल्य, मान्यताको अवमूल्यन तथा संसदीय पद्धतिको खिल्ली उडाउने काम भएको आरोप लगाउनु भएको छ । नेपाली कांग्रेसले यी सबै कार्यको घोर भर्त्सना गर्ने पनि विज्ञप्तिमा उल्लेख छ ।