March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

देउवा-प्रचण्ड र एमालेकै नेपाल-खनाल पनि गएनन् ओलीको सपथग्रहणमा

प्रधानमन्त्री केपी शर्मा ओलीको सपथग्रहण समारोहमा नेपाली कांग्रेसका सभापति एवम् प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा अनुपस्थित भएका छन्।

Advertisement

आफ्नो नेतृत्वमा सरकार बनाउन असफल भएका देउवा सपथग्रहण समारोहमा समेत अनुपस्थित भएका हुन्। सपथग्रहण समारोहमा ओली ढाल्ने प्रयासमा रहेका सत्तारुढ एमालेकै वरिष्ठ नेताहरु पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल र माधकुमार नेपाल पनि सहभागी भएनन्।

एक वर्षअघिदेखि ओलीलाई प्रधानमन्त्रीबाट हटाउन दिलोज्यानले लागिपरेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी भएनन्। जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष रहेका अर्का पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई पनि सपथग्रहण समारोहमा सहभागी भएनन्।

जसपा अध्यक्ष महन्थ ठाकुर भने समारोहमा थिए, जसको ओली पुनःप्रधानमन्त्री बन्न सक्नुमा मुख्य भूमिका थियो। 

सबै पूर्वप्रधानमन्त्रीहरु ओलीलाई हटाएर देउवालाई प्रधानमन्त्री बनाउन प्रत्यक्ष सहभागी थिए।प्रधानमन्त्रीको सपथग्रहणमा सहभागी भएर ‘राजनीतिक संस्कार’ समेत नदेखाउन नसकेका हुन्। पूर्वप्रधानमन्त्री मर्यादाक्रमका हिसाबले बहालवाला मन्त्री सरह हैसियतमा हुन्छ।

प्रधानमन्त्रीकै दल एमालेको ‘समानान्तर समूह’ का नेताहरु पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल र माधवकुमार नेपाल उपस्थित भएनन्। राष्ट्रपति कार्यालय शीतलनिवासमा सपथग्रहण समारोह भइरहँदा नेपाल भने आफ्नो ‘समूह’ मा लागेका एमाले केन्द्रीय सदस्यहरुसँग बैठक गरिरहेका थिए।

नेपालले प्रधानमन्त्री ओलीसँग बिहीवारमात्र साढे चार घण्टालामो एक्लाएक्लै छलफल गरी एमालेमै मिलेर जाने सहमति गरेका थिए । नेपालको अनुपस्थितिले राजीनामा सांसद पदबाट  राजीनामा नदिने उपायको खोजीमा सहमति जनाएकाे मात्र त हाेइन, आशंका पैदा भएकाे छ ।

प्रधानमन्त्री ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि प्रचण्डसँग मिलेर प्रधानमन्त्रीबाट ओलीलाई हटाउन नेपाल पनि क्रियाशील थिए। प्रतिनिधिसभा पुनर्बहालीलगत्तै चितवनमा रहेका प्रचण्ड र नेपालले एकअर्कालाई लड्डु खुवाएर खुशीयाली मनाएको तस्विर सार्वजनिक भएको थियो।

नेपाल र प्रचण्ड समूह मिलेर बबरमहलको कार्की ब्याङ्केटमा भेला आयोजना गरी प्रधानमन्त्री ओलीलाई एमाले अध्यक्ष र साधारण सदस्यबाट निस्कासन गरी नेपाललाई एमाले अध्यक्षमा मनोनित गरेको घोषणा गरेका थिए।

सर्वोच्च अदालतले फागुन २३ गतेको फैसलाबाट एमाले र माओवादीकेन्द्र अलग भएपछि पनि भने नेपाल ‘एमालेको समानान्तर समूह’ गठन गरी ओलीविरुद्ध क्रियाशील भएका थिए भने प्रचण्ड आफ्नो बाटो लागेका थिए। तर, दुवैको साझा ‘मिशन’ थियो– ओली हटाउनु।

माओवादीकेन्द्र व्युँतनुअघि आफूलाई ओली हटाएर बन्ने प्रधानमन्त्रीका रूपमा ‘प्रोजेक्सन’ गरेका प्रचण्ड त्यसपछि भने प्रधानमन्त्रीको संभावना नरहेको निष्कर्षमा पुगेका थिए। अनि ‘वाम–गठबन्धन’ बनाएर एमालेसँग साझा घोषणापत्रमा चुनाव लडेका प्रचण्ड वामपन्थी प्रधानमन्त्री ओलीलाई हटाएर कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने दौडमा क्रियाशील भएका थिए।

जनता समाजवादी पार्टीको महन्थ ठाकुर समूहले देउवालाई प्रधानमन्त्री बनाउन नसक्ने अडान राख्यो। अनि संविधानअनुसार बहुमत पुर्‍याउन सकेनन्। माधवकुमार नेपाल पक्षधर एमालेका २० सांसद्लाई राजीनामा गराएर भए पनि ओलीलाई प्रधानमन्त्रीबाट हटाउने प्रचण्ड ‘मिशन’ पनि नेपाल समूहले जोखिम उठाउने आँट नगरेपछि असफल भएको थियो।

अर्का पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई पनि सपथ ग्रहणमा सहभागी भएनन्। डा. भट्टराई नयाँ प्रधानमन्त्रीको खोजीका सिलसिलामा यसबीच प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्न दुईपटक गोप्यरुपमा बालुवाटार पुगेका थिए।