May 13, 2024, Monday
३१ बैशाख २०८१, सोमबार

आफ्नो महत्वाकांक्षा पूरा गर्न नपाउँदा देशमा प्रतिगमन भयो भनेर गलत हल्ला फैलाए: प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले केही व्यक्तिले आफ्नो महत्वाकांक्षा पूरा गर्न नपाउँदा देशमा प्रतिगमन भयो भनेर गलत हल्ला फैलाएको आरोप लगाएका छन् । शनिबार काठमाडौंमा लोकतन्त्रका योद्धालाई सम्मान गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले केही मान्छेहरुले सत्ता कब्जा गर्नका लागि आफू प्रधानमन्त्री हुन नपाएपछि प्रतिगमन भयो भनेर कराउँदै हिँडेको बताएका हुन् ।

Advertisement

‘केही आफू प्रधानमन्त्री हुन पाइनँ भनेर प्रतिगमन भो भनेर आँगनमा कराउन थालेका छन्, ’ उनले भने, ‘अहिले त्यस्तै स्यालहुइँया चलाउने मान्छे छन् । के हो प्रतिगमन ? यिनीहरूले परिवर्तन नै देख्या रैनछन् क्या हो ? उनले भने

ओलीले भने- एकथरी मान्छे आफू प्रधानमन्त्री हुन पाएन भने प्रतिगमन भयो भनेर आगनमा निस्केर कराउन थाल्छन् । आफ्नै पार्टी फुटाएर, बहुमतको सरकार कब्जा गर्न हिडेकाहरुका कब्जा, काँटा किला सबै फुस्किएपछि प्रतिगमन भनेर हिडेका छन् ।आफ्नो पार्टी तोडफोड गरेर अर्को पार्टीका नेतालाई प्रधानमन्त्री भइदिनुहोस भन्दै हिँड्नेहरुले क्रान्तिका कुरा गर्न नसुहाउने पनि प्रधानमन्त्री ओलीले बताए । सरकारले गरेको परिवर्तन, स्थायित्व, अग्रमन, विकासको लहर सबै कुराहरुलाई जनताले बुझ्ने प्रयास गरिराखेको पनि उनको भनाइ छ ।

संविधान, व्यवस्था र जनताको अधिकार, लोकतन्त्रका मूल्य र मान्यता केही पनि नखोसिएको तर केही मान्छेका इच्छा र आकांक्षा पुरा हुन नसकेकाले त्यस्ता मान्छेहरुले प्रतिगमन भयो भनेर हल्ला चलाउने काम गरेको बताए ।सत्ता कब्जा हुन सकेन भने प्रतिगमन भयो भन्छन्’, उनले भने, ‘म भए त कम्फरटेबल हुन्छ भन्दै छिमेकी गुहार्छन्। आफ्नो पार्टी फुटाएर अर्को पार्टी कहाँ धाइरहेछन्। देख्नु भएन शेरबहादुर देउवाजीकहाँ धाइरहेका ?’

ओलीले एमानले नेता भीम रावलको नाम नलिई उनीमाथि समेत कटाक्ष गरे ।

‘केही मानिसले बोलेको सुन्दा, केही मानिसले हामीबारे टिप्पणी गरेको सुन्दा अचम्म लाग्छ’, उनले भने, ‘जुन मान्छे आफू गृहमन्त्री हुँदा पटापट गोली हानेर मान्छे मार्थे, उनै आज अधिनायकवाद भयो भनिरहेका छन्।’

प्रधानमन्त्री ओलीले देशका लागि गरिएको बलिदानको सम्मान, त्यागको सम्मान र अत्यन्त पीडादायक भोगाइको सम्मान गरिएको बताए । सहिद परिवार र घाइतेहरूलाई आगामी दिनमा सरकारको तर्फबाट गर्नुपर्ने कामहरु के के हुन सरकारको ध्यानाकर्षण भएको पनि बताए ।

शहीदका परिवारको सामाजिक सुरक्षा, रोजगारी र बालबालिकाहरुको शिक्षादिक्षाको सम्बन्धमा सरकारले सम्बोधन गर्ने पनि प्रधानमन्त्री ओलीले बताए । यस्तै कुनै घाइते व्यक्तिको निरन्तर उपचारको आवश्यकता छ भने सरकारले ध्यान दिने पनि उनले प्रतिवद्धता जनाए ।