June 5, 2024, Wednesday
२३ जेष्ठ २०८१, बुधबार

जनताको सपनाको रक्षा गर्ने अभियानमा फेरि एक पटक लागे, परिवारमा सल्लाह गर्नुहोला- प्रचण्ड

काठमाडौं । काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशी शक्तिसामु ‘आत्मसमर्पण’ गरेको आरोप लगाउदै जनताको सपनाको रक्षा गर्ने अभियानमा फेरि एक पटक लागेको भन्दै त्यो ठीक भए नभएको बारे घर-परिवारमा सल्लाह गर्न आग्रह गरेका छन्।

Advertisement

सल्यानको सल्लीबजारमा बुधबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले ओलीले संसद् विघटन गरेर विदेशी शक्तिसमक्ष आत्मसर्पण गरेको आरोप लगौदै उनले भने ‘बीचमा दुर्घटना हुने खतरा पैदा भएको थियो। त्यो दुर्घटनाबाट राष्ट्रको रक्षा, जनताको रक्षा र तपाईं हामीको सपनाको रक्षा गर्नको लागि म फेरि एकचोटी यो अभियानमा छु ।’

उनले यो अभियानबारे घरपरिवारमा चिन्तन मनन् र सल्लाह गर्न समेत आग्रह गरे। ‘तपाईंहरूसँग भेट भयो, छोटो समयमा उपस्थित भएर मेरो कुरा सुन्नु भयो,’ सल्लीबजारमा आयोजित सानो सभालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘विचार गर्नुहोला मेरो कुरा । तपाईंहरुलाई कस्तो लाग्छ ? ठीक भने कि बेठीक भने की ? चिन्तन, मनन् गर्नुहोला घर परिवारमा । साथीभाइहरूमा सल्लाह गर्नुहोला ।’

साथै उनले प्रधानमन्त्री ओलीलाई रुसका अन्तिम कम्युनिस्ट प्रधानमन्त्री मिखाइल गोर्वाचोभ र जर्मनीका हिटलरसँग तुलना गर्दै ओली पनि सोही बाटोमा अघि बढेको टिप्पणी गरे ।‘विदेशी शक्तिको अगाडि आत्मसमर्पण गरेर देशलाई घात गर्नेहरू पनि देखिएका छन्,’ ओलीलाई लक्षित गर्दै प्रचण्डले भने, ‘गोर्वाचोभले कम्युनिस्ट पार्टी नै सकाए, हिटलरले आफूलाई सबैभन्दा ठूलो राष्ट्रवादी मान्थे ।’

अध्यक्ष प्रचण्डले सर्वोच्च अदालतले गत फागुन २३ गते गरेको फैसला ‘विचित्रको आएको’ भन्दै आफ्नो असन्तुष्टि पनि प्रकट गरे । उनले निवदेकले दाबी नै नगरेको विषयमा अदालतले फैसला सुनाएको आरोप लगाए । ‘बढीमा नाम अर्को बनाएर आऊ भन्ने फैसला आउला भन्ने लागेको थियो,’ उनले भने, ‘दुई दल बनाउने दाबी निवेदकको थिएन ।’

बाँकी जीवन विकास निर्माण र समृद्धिका लागि लगाउने संकल्प गर्दै आफू चुनावमा गएको र त्यसको तीन वर्षपछि दुर्घना हुन खोजेको टिप्पणी गरे। ‘यो संविधान र लोकतन्त्रको रक्षा गर्दै जनताको विकास र समृद्धिको सपना पुरा गर्न धेरै ठूला-ठूला कुरा गर्ने मौका पाएँ मैले,’ प्रचण्डको भनाइ छ, ‘नेपालको इतिहासमै कमै नेताले यस्तो मौका पाउँछन् । मैले पाएँ । अब बाँकी जीवन विकास निर्माण, समृद्धि, सामाजिक न्याय र समाजवादका निम्ति दिन्छु भनेर संकल्प गरेर चुनावमा गएँको थिएँ ।’