April 28, 2024, Sunday
१६ बैशाख २०८१, आईतवार

बुद्धका उपदेश विश्व शान्ति र मानव कल्याणका निम्ति आज पनि उत्तिकै शास्वत छन्- प्रचण्ड

काठमाडौँ ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गौतम बुद्धले नेपाली भूमिमा जन्म लिएर विश्व शान्ति र अहिंसाका लागि पु¥याएको योगदान नेपालीहरुका लागि गर्वको कुरा भएको बताउनुभएको छ । २५६५ औं बुद्ध जन्मजयन्तीको अवसरमा शुभकामना दिँदै दाहालले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण बौद्ध धर्मावलम्बीहरूमा सुस्वास्थ्य र दीर्घायूको कामना गर्नुभएको छ ।

Advertisement

‘बुद्धका उपदेश विश्व शान्ति र मानव कल्याणका निम्ति आज पनि उत्तिकै शास्वत छन्,’ प्रचण्डको सन्देशमा उल्लेख छ,’ ‘सबैको अस्तित्वको सम्मान गर्दै शान्तिपूर्ण सहअस्तित्वको भावनाले नै मानव समुदायमा नयाँ र वैज्ञानिक चेतनाको अभिवृद्धि हुन्छ। दम्भ र अहङ्कारले मानिसमा विनाश निम्त्याउँछ।’

अहंकारले विनाश निम्त्याउने केराको ज्वलन्त उदाहरण वर्तमान राजनीतिमा देखिएको उहाँको भनाइ छ। पुरातनवादी विचार र चेतनाका विरुद्ध गौतम बुद्धले गरेको विद्रोह जसरी प्रतिगमनकारी सोच, चिन्तन र प्रवृत्तिका विरुद्ध संघर्षमा उत्रिनु परिवर्तनकामी शक्तिको एक मात्र विकल्प रहेको चर्चा गर्नुभएको छ ।

आजकै दिन मनाइने किरात राई, याक्खा, सुनुवार, लिम्बु समुदायको प्रमुख चाड उभौली पर्व तथा चण्डीपूर्णिमाका अवसरमा पनि प्रचण्डले शुभकामना समेत दिनुभएको छ । कोरोना भाइरस (कोभिड–१९)को महामारीमा स्वास्थ्य सुरक्षाका सबै मापदण्डको पूर्ण पालना गरी चाडपर्व मनाउन र आफू र आफ्नो समाजलाई सुरक्षित राख्न भूमिका निर्वाह गर्ने विश्वास उहाँले लिएको बताउनुभएको छ ।