May 11, 2024, Saturday
२९ बैशाख २०८१, शनिबार

मौन अवधिमा मतदातालाई धम्की दिनु आचारसंहिताको गम्भीर उल्लङ्घन– प्रचण्ड

काठमाडौं ।   नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभा चुनावमा रामबहादुर थापालाई विजयी बनाउन मतदातालाई गरेको अपिलले निर्वाचन आचारसंहिता उल्लङ्घन भएको बताउनुभएको छ ।

Advertisement

प्रचण्डले स्वतन्त्र, स्वच्छ र मर्यादित चुनाव सम्पन्न गर्नु सरकारको दायित्व भएको र यस विपरीत सरकार प्रमुखले नै उम्मेदवारलाई विजयी गराउन मतदातालाई अपिल गरेर निर्वाचनमा प्रभाव पार्नु, स्वच्छ, निष्पक्ष र भयरहित चुनावको आधारभूत सिद्धान्तको विरुद्ध रहेको बताउनुभएको हो ।

‘मौन अवधिमा सार्वजनिक वक्तव्यमार्फत अमुक उम्मेदवारलाई विजयी गराउन आग्रह गर्दै मतदातालाई दिएको धम्कीले आचारसंहिताको गम्भीर उलङ्घन भएको छ । यस्तो स्थितिमा हुने चुनाव स्वच्छ र निष्पक्ष हुने कसरी अपेक्षा गर्न सकिन्छ प्रधानमन्त्रीको यस कार्यको निन्दा र भर्त्सना गर्दै आवश्यक कारबाहीका लागि निर्वाचन आयोग समक्ष आग्रह गर्दछु’, विज्ञप्तिमा भनिएको छ ।

साथै प्रचण्डले निर्वाचन आयोग, राजनैतिक पार्टी, निर्वाचन पर्यवेक्षक, नागरिक समाज, पत्रकार तथा आम जनसमुदायमा यस प्रकारको अलोकतान्त्रिक हर्कतप्रति चनाखो हुँदै लोकतान्त्रिक मूल्य र मान्यताको रक्षाका निम्ति एकजुट हुन अपिल गर्नुभएको छ । बिहीवार हुने मतदानका लागि निर्वाचन आयोगले जेठ ३ गते मध्यरातिदेखि नै कुनै पनि प्रकारका प्रचारप्रसार र निर्देशन दिन नपाउने भनेर मौन अवधि सुरु भएको जनाएको छ । तर प्रधानमन्त्री ओलीले पार्टीभित्र निर्देशन दिने नाममा पार्टीको चुनाव चिह्न र उम्मेदवारलाई भोट माग्दै अपिल पत्र सार्वजनिक गर्नुभएको हो ।