May 3, 2024, Friday
२१ बैशाख २०८१, शुक्रबार

प्रहरीले सोधपुछका लागि बोलायो रामकुमारी झाँक्रीलाई , पक्राउको तयारी

काठमाडौं । प्रहरीले नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई बोलाएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीलाई व्यक्तिगत रुपमा चरित्रहत्या गर्ने ढंगले र एकल महिलाप्रति लक्षित गरेर आपत्तिजनक अभिव्यक्ति दिएको अभियोगमा प्रहरीले झाँक्रीलाई सोधपुछ बोलाएको हो।

Advertisement

अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले विघटित प्रतिनिधिसभा सदस्य झाँक्रीलाई गोरखामा केही दिनअघि दिएको अभिव्यक्तिका सन्दर्भमा सोधपुछ गर्न बोलाइएको पुष्टि गरे ।थापाले राष्ट्रपति जस्तो सम्मानित संस्थाविरूद्ध अनर्गल प्रचार गर्ने काम गरेकाले उनलाई सोधपुछका लागि बोलाइएको बताए।

नेतृ झाक्रीलाई महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले सोधपुछका लागि बोलाउँदा उपस्थित नभएपछि बिहीबार पक्राउको तयारी गरेको हो ।यसअघि झाक्रीलाई पक्राउ गर्न सरकारले प्रहरीलाई चर्को दबाब दिँदै आएको थियो । झाक्रीमाथि राष्ट्रपतिको मर्यादामा आँच पुर्याउने अभिव्यक्ति दिएको आरोप सरकारी पक्षको छ ।

झाँक्रीले गोरखामा आयोजित एक कार्यक्रममा राष्ट्रपति भण्डारीले सक्रिय राजनीति गरेको भन्दै आलोचना गरेकी थिइन्।उनले भनेकी थिइन्- राष्ट्रपतिका कुरा त के गर्नु र! बडामहारानीले चुनाव हुन्छ भन्‍नुभएछ। बडामहारानीलाई गोरखाबाटै सन्देश दिन्छु। शीतल निवासको कारगेट छाडेर कोटेश्‍वर फर्किए हुन्छ। चाबहिल हो कि कता घर छ रे। त्यता पनि नभए बालकोट नै गए पनि हुन्छ।

मदन भण्डारीको हत्यापछि तत्कालीन एमालेले २०५० सालमा विद्यादेवी भण्डारीलाई चुनाव लडाउनु भुल भएको झाँक्रीको भनाइ थियो।

‘मदन भण्डारीको हत्यापछि सेतो साडी लगाएर चुनावमा उठाउने नेकपा एमालेले जुन संस्कृति सुरू गरेको थियो, जे गरेको थियो, त्यसको प्रतिउत्पादक हो विद्या भण्डारी ,’ उनले भनेकी थिइन्।

बुधबार राजधानीमा आयोजित प्रचण्ड-नेपाल समूहको आमसभामामुखमा कालो टेप टाँसेर मञ्चमा उक्लिएकी झाँक्रीले भनेकी थिइन्- बोल्न पाइन्छ। झाँक्रीले राष्ट्रपति सम्मनित संस्था भएपनि उक्त पदमा बस्ने व्यक्तिको कार्यशैली ठीक नभएको भन्दै गलत कार्यशैलीको विरोध गरेको बताएकी थिइन् ।

‘हामीले ल्याएको व्यवस्थामा बोल्न पाइन्छ । महिला अस्मिता र संविधानविरुद्ध काम गर्ने खलपात्रविरुद्ध बोल्दा महिलाको अस्मिता मिचिदैन बरु भागरथी भट्ट र निर्मला पन्तको बलात्कार र हत्या हुँदा मिचिन्छ । राष्ट्रपति संस्था हो, संस्थाको कुनै लिंग हुँदैन’, झाँक्रीले बुधबार काठमाडौमा भएको सभामा भनेकी थिइन् ।