May 17, 2024, Friday
४ जेष्ठ २०८१, शुक्रबार

विवाह पञ्चमीका अवसरमा राष्ट्रपतिको सन्देश

राष्ट्रपति विद्यादेवी भण्डारीले विवाह पञ्चमीका अवसरमा शुभकामना सन्देश दिँदै यस पर्वले सम्पूर्ण नेपालीमा बृहत् राष्ट्रिय एकताको भावनालाई थप सुदृढ बनाउन प्रेरणा मिल्ने कामना गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले आज दिनुभएको सन्देशमा सो पर्वले समतामूलक, सभ्य र सुसंस्कृत समाजको निर्माणका लागि अग्रसर हुन सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गर्नुभएको हो । त्रेतायुगमा मार्ग शुक्ल पञ्चमी तिथिका दिन अयोध्याका राजकुमार राम र मिथिलाका राजा जनककी पुत्री सीताको शुभ विवाह सम्पन्न भएको विशेष दिनको सम्झनामा विवाह पञ्चमी मनाइन्छ ।

“प्राचीन मिथिलाको राजधानी रहेको जनकपुरधाममा साताव्यापीरूपमा मनाइने विवाहपञ्चमी महोत्सवअन्तर्गत वैवाहिक कार्यक्रमलाई मुख्य आकर्षणको केन्द्र मानिन्छ । यस दिन विवाह उत्सवमा बाजागाजासहित झाँकी प्रस्तुत हुने तथा जन्ती र डोला हेरिने परम्परा रहेको छ”, सन्देशमा भनिएको छ, “प्राचीनकालदेखि नै मिथिला क्षेत्रमा मनाइने विवाह पञ्चमी पर्वको सांस्कृतिक एवं ऐतिहासिक महत्व रहेको छ ।”

Advertisement