April 27, 2024, Saturday
१५ बैशाख २०८१, शनिबार

प्रतिनिधि सभा पुनर्स्थापना भएको खुसियालीमा आज देशभरि विजय जुलुस

काठमाडौँ– प्रचण्ड-नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय संघर्ष समितिले प्रतिनिधि सभा पुनर्स्थापना भएको खुसियालीमा आज देशभरि विजय जुलुस गर्ने भएको छ।संसद पुनर्स्थापनाको खुसियाली मनाउन नेकपाले काठमाडौं उपत्यकाको शान्तिवाटीकामा मध्याह्न १२ बजे भेला हुन नेता कार्यकर्ताहरुलाई निर्देशन दिएको छ ।

Advertisement

सर्वोच्च अदालतले संसद विघटनलाई बदर गरिदिएसँगै नेकपा प्रचण्ड-नेपाल समूहले आफ्ना विरोध कार्यक्रमलाई खुसियाली सभामा परिणत गरेको हो ।सर्वोच्च अदालतले मंगलबार साँझ प्रतिनिधि सभा पुनर्स्थपना गर्ने फैसला गरेपछि चितवनको आमसभा स्थगित भएको छ। दुबै अध्यक्षहरू केहीबेरमा काठमाडौं आउँदै छन्।

काठमाडौँमा हुने विजय जुलुसलाई नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र माधव कुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम रहेको केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए ।

यस्तै देशभरका जिल्ला सदरमुकाममा पनि विजय जुलुस हुनेछन् । बिहान ८ बजेपछि नै जिल्ला सदरमुकाममा विजय जुलुस सुरु हुने रिजालले बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेर प्रतिनिधि सभा विघटन गरेपछि प्रचण्ड-नेपाल समूहले प्रवक्ता नारायणकाजी श्रेष्ठको नेतृत्वमा संघर्ष समिति बनाएको थियो।