May 18, 2024, Saturday
५ जेष्ठ २०८१, शनिबार

ओलीको जनताविरोधी कार्यले पार्टी एकतालाई कुनै असर गर्दैन :नेकपा अध्यक्ष प्रचण्ड (विज्ञप्तिसहित)

काठमाडौं– नेकपा अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री एवम् अर्का अध्यक्ष केपी ओलीको देश र जनताविरोधी कार्यले पार्टी एकतालाई कुनै असर नगर्ने बताएका छन्।

दाहालले सोमबार विज्ञप्ति प्रकाशित गरी कुनै व्यक्तिको पार्टी, राष्ट्र र जनता विरोधी कार्यले नेकपाको एकतालाई तात्त्विक असर नपर्ने बताएका हुन्। ‘म पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता, पार्टी पङ्क्ति र आम–जनसमुदायलाई के तथ्य स्पष्ट पार्न चाहन्छु भने हाम्रो पार्टी एकतावद्ध छ र कुनै व्यक्तिको पार्टी, राष्ट्र र जनता विरोधी यसप्रकारका कार्यले हाम्रो पार्टीको एकतालाई कुनै तात्विक असर पर्ने छैन’, प्रचण्डले विज्ञप्तिमा भनेका छन्, ‘नेपाली जनताले ठूलो त्याग र बलिदानपूर्ण संघर्षको परिणाम स्वरुप प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्र सहितको राजनीतिक परिवर्तनको रक्षा गर्नु आजको ऐतिहासिक कार्यभार हो ।’

ओली एकजनाको पार्टी विरोधी गतिविधिले एकीकृत पार्टीको संरचना र पार्टी एकतालाई भत्काउन नसक्ने ठोकुवा गर्दै उनले अगाडि भनेका छन्, ‘राष्ट्रको समृद्धि र नेपाली कम्युनिष्ट आन्दोलनको भविष्यका निम्ति पार्टी एकतालाई कमजोर पार्ने सबै प्रकारका प्रवृति र तत्वहरुका विरुद्ध एकतावद्ध भएर उभिन तथा कुनै व्यक्तिको पार्टी विरोधी गतिविधिले एकीकृत पार्टीको संरचना र पार्टी एकतालाई भत्काउन सक्ने छैन र त्यसप्रकारको कुनै भ्रमात्मक प्रचारमा नपर्न पनि म सबैलाई अपील गर्दछु ।’विज्ञप्तिमा भनिएको छ, ‘पार्टी अध्यक्ष कमरेड ओलीलाई अनुशासनको कारबाहीका निम्ति स्पष्टीकरण माग्ने निर्णय गरेको विषय सार्वजनिक भइसकेको छ।’

Advertisement