May 4, 2024, Saturday
२२ बैशाख २०८१, शनिबार

नेकपा बिबाद : प्रदेश २ नेकपा संसदीय दलका नेता मण्डलविरूद्ध अविश्वासको प्रस्ताव दर्ता

जनकपुरधाम । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन भएसँगै प्रचण्ड-नेपाल समूहले प्रदेश २ का संसदीय दलका नेता सत्यनारायण मण्डललाई हटाउने तयारी गरेको छ ।

Advertisement

प्रतिनिधि सभा विघटनपछि दुई भागमा विभाजित भएको नेकपामा अहिले एक पक्षले अर्को पक्षका नेताविरूद्ध कारबाही र पदमुक्त गर्ने होडबाजी नै चलेको छ। सोही क्रममा प्रदेश २ का ओली समूहका नेकपाका संसदीय दलको नेता मण्डलविरूद्ध अविश्वास प्रस्ताव दर्ता भएको हो।

मण्डल ओली समूहमा लागेपछि उनलाई अविश्वास प्रस्ताव लगाइएको प्रचण्ड–नेपाल समूहका नेताहरूको भनाइ छ। प्रदेश २ मा नेकपाको ३२ जना सांसद छन् । यसमध्ये २० जना आफूहरुको पक्षमा रहको प्रचण्ड-नेपाल पक्षको दाबी छ । नेकपाको ३२ प्रदेशसभा सदस्यमध्ये १७ जनाको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता गरिएको हो।

दर्ता गराइएको अविश्वास प्रस्तावमा गोविन्द बहादुर न्यौपाने, रुबी कर्ण, प्रमिला देवी यादव, राम कुमार यादव, प्रमोद कुमार यादव, अशोक यादव, मदनशेन प्रसाद श्रीवास्तव, जगत प्रसाद यादव, सत्रुध्न महतो, भरत प्रसाद साह, मन्जु कुमारी यादव, बेची लुङ्गेली, रविन्द्र बैठा, डिल्ली प्रसाद उप्रेती, हसिमा खातुन, नागेन्द्र राय यादव र सुन्दर बहादुर विश्वकर्माको हस्ताक्षर रहेको छ।

मण्डललाई केही दिन अगाडि मात्रै नेकपा ओली समूहले प्रदेश २ को इन्चार्जमा नियुक्त गरेको थियो। आइतबार बस्ने संसदीय दलको बैठकमा अविश्वास प्रस्ताव दर्ता हुने र नेता मण्डलले त्यसमा फेस गर्न नसके तत्कालै हटाइने सांसद महतोले शुक्रबार पत्रकारहरु समक्ष बताएका छन् ।