May 15, 2024, Wednesday
२ जेष्ठ २०८१, बुधबार

मुम्बईको इन्डियन्सको पहिलो जित

डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्सले पहिलो जित निकालेको छ । अबुधाबीमा बुधबार राति भएको खेलमा रोहित शर्माले उत्कृष्ट ब्याटिङ गरेपछि मुम्बईले कोलकाता नाइट राइडर्सलाई ४९ रनले हरायो ।

Advertisement

मुम्बईको यो पहिलो जित हो । यसअघि उद्घाटन खेलमा मुम्बई चेन्नई सुपर किंग्ससँग ५ विकेटले पराजित भएको थियो । कोलकाताको भने यो पहिलो खेल थियो ।

मुम्बईले दिएको १९६ रनको विशाल लक्ष्य पछ्याएको कोलकाताले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै १४६ रन मात्र बनाउन सक्यो । उसका लागि पाट कमिन्सले सर्वाधिक ३३ रन बनाए भने कप्तान दिनेश कार्तिकले ३० र नितिश रानाले २४ रन बनाए ।

मुम्बईका लागि जस्प्रित बुमराह, ट्रेन्ट बोल्ट, जेम्स प्याटिन्सन र राहुल चहरले समान २ विकेट लिए । यस्तै, केइरन पोलार्डले १ विकेट लिए ।

शेख जायद स्टेडियममा कोलकाताले टस जितेर फिल्डिङ रोजेपछि पहिला ब्याटिङ गरेको मुम्बईले रोहितको अर्धशतकीय योगदान मद्दतमा ५ विकेट गुमाउँदै १९५ रन बनायो । रोहितले ५४ बल खेल्दै ३ चौका र ६ छक्काको मद्दतमा ८० रन बनाए ।

यस्तै सूर्यकुमार यादवसले २८ बलमा ६चौका र १ छक्का प्रहार गर्दै ४७ रन बनाए । रोहित र सूर्यकुमारले दोस्रो विकेटका लागि ९० रनको साझेदारी गरेका थिए । रोहित तेस्रो विकेटका लागि सौरभ तिवारीसँग ४० र हार्दिक पाण्ड्यासँग चौथो विकेटका लागि ३० रनको साझेदारी गरेका थिए । सौरभ तिवारीले २१ र हार्दिकले १८ रन बनाए ।

कोलकाताका शिभम मावीले २ विकेट लिए भने र सुनिल नारिन र आन्द्रे रसेलले समान १ विकेट लिए । उत्कृष्ट ब्याटिङ गरेका रोहित प्लेयर अफ दी म्याच बने ।

बिहीबार किंग्स इलावेन पञ्जाब र रोयल च्यालेन्जर्स बेंगोर भिड्ने छन् । खेल साँझ ७ः४५ बजे दुबईमा हुने छ ।