May 16, 2024, Thursday
३ जेष्ठ २०८१, बिहीबार

बहाव बढी नारायणी नदी बस्तीमा छिर्यो, उच्च सावधानी अपनाउन आग्रह

असोज ९ । तीन दिन अघिदेखीको निरन्तर परेको पानीले गर्दा चितवनको नारायणी नदीमा आएको बाढी मानव बस्तीमा छिरेको छ । नदीको सतह बढेपछि भरतपुर महानगरपालिकाको वडा नं. २६ मा नारायणी नदी पसेको हो । हिजो दिउँसोबाट नारायणी नदी बस्तीमा पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा राखिएको प्रजिअ नारायणप्रसाद भट्टराईले जानकारी दिए । भट्टराईले भने, “नदीले खतराको तह पार गरेको छ त्यसको असर नदीको तटीय क्षेत्रमा परेको छ ।”

यसैगरी भरतपुर महानगरपालिकाको वडा नं. २८ मेघौली क्षेत्र, वडा नं. १६ मंगलपुर क्षेत्रमा बाढी पस्ने खतरा भएपछि वस्तीलाई स्थानान्तरण गरिएको छ । जिल्ला भएर बग्ने नारायणी, राप्ती, माडीको रिउलगायतको नदी र खोलामा बाढी आएको छ । बिहीबार साँझसम्म मानवीय क्षति नभए पनि घर डुबानमा परेको र भौतिक क्षति भने भएको छ । भौतिक क्षतिको विषयमा विवरण संकलन कार्य जारी रहेको भट्टराईले जानकारी दिए । राप्ती नदीमा बाढी आएपछि पर्यटकीय क्षेत्र सौराहा डुबानमा परेको छ । नदीको किनार क्षेत्रमा बाढी पसेर होटलहरु डुबानमा परेको छ । काठ र कच्ची घरहरु डुबानका कारण पूर्ण रुपमा क्षति भएको प्रजिअले जानकारी दिए । चितवन र नवलपरासीको सीमा भएर बग्ने नारायणी नदीको बहावले खतराको विन्दु पार गरेको छ । नदीको उद्गमथलोतर्फ निरन्तर पानी परिरहेकाले सतह अरु बढ्ने अनुमान गरिएको छ ।

भरतपुर महानगरका प्रमुख रेनु दाहालले नदी तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह गर्नुभएको छ । यो समाचार आजको गोरखापत्रले छापेको छ ।

Advertisement