May 2, 2024, Thursday
२० बैशाख २०८१, बिहीबार

३ वर्षसम्म भएन लाइसेन्स नवीकरण

यातायात व्यवस्था कार्यालय वीरगन्जको लापरबाहीको कारण एक सेवाग्राहीले ३ वर्षदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) पाएका छैनन् । बारा कलैयाका दिव्यनाथ श्रेष्ठको लाइसेन्स निवेदन दिएको ३ वर्षसम्म पनि नवीकरण नभएको हो । आफूभन्दा पछाडि निवेदन दिएका सेवाग्राहीहरूले स्मार्ट लाइसेन्स पाई सक्दा आफू भने पटक–पटक कार्यालय धाएर निराश मात्र भएको उनले बताए । ०२–०५–००५१७९८९ नम्बरको लाइसेन्स नवीकरण गर्न श्रेष्ठले सन् २०१८ सेप्टेम्बर १५ मा कार्यालयमा निवेदन दिएका थिए । त्यतिबेला कार्यालयले स्मार्ट लाइसेन्स दिने भनि श्रेष्ठलाई कम्तीमा ३ महिना प्रतिक्षा गर्नु पर्ने बताएको थियो । तर ३ वर्ष प्रतीक्षा गर्दा पनि आफूले लाइसेन्स नपाएको उनले गुनासो गरे ।

‘तीन महिनामा आउला भनेको लाइसेन्स ३ वर्ष कुर्दा पनि आएन,’ उनले भने, ‘यातायात कार्यालय धाउँदा–धाउँदा थाकिसकें । गुनासो गर्दा आश्वासनबाहेक केही पाएको छैन ।’ यसअघि सन् २०१८ अगस्ट १९ मा श्रेष्ठको लाइसेन्सको म्याद सकिएको थियो । अब नवीकरण भए पनि सन् २०२३ अगस्ट १८ मा पुनः म्याद सकिन्छ । ‘एउटा म्याद सकिएर नवीकरण गर्न दिएको त अर्को म्यादसमेत सकिने समय नजिकिन थाल्यो,’ उनले भने, ‘कार्यालयबाटै लाइसेन्स यसरी गायब होला भनेर मैले कल्पनासमेत गरेको थिइनँ । अब कहाँबाट न्याय पाउने ?’

कार्यालय प्रमुख सुशीलकुमार साहले आफूले श्रेष्ठको लाइसेन्सबारे कार्यालयदेखि विभागसम्म बुझ्दा कहीं पनि लाइसेन्स नरहेको स्विकारे । ‘कहिलेकाहीं त्रुटिवश यस्तो हुन जान्छ,’ उनले भने, ‘लाइसेन्स छाप्ने बेला नै उहाँको लाइसेन्स छुटेको हुन सक्छ । म कसरी उहाँको समस्या समाधान हुन्छ भनि प्रयासरत छु ।’ १ वर्षभन्दा बढी प्रतीक्षा गर्दा पनि कार्यालयबाट स्मार्ट लाइसेन्स नपाएको गुनासो गर्ने सेवाग्राही धेरै छन् । ‘सेवाग्राहीले सकेसम्म छिट्टै लाइसेन्स पाउन् भन्ने हाम्रो पनि उद्देश्य छ, त्यसमै लागिरहेका छौं,’ उनले भने ।

Advertisement