May 18, 2024, Saturday
५ जेष्ठ २०८१, शनिबार

दाङमा एमालेका पाँच महिला वडाध्यक्ष

गत शनिबार सम्पन्न भएको नेकपा एमालेकोे १०औँ महाधिवेशनअन्तर्गत वडा तहको अधिवेशनमा यहाँ पाँच महिला वडाध्यक्षमा निर्वाचित भएका छन् ।

Advertisement

जिल्लाका १०० वडामध्ये पाँच वडामा मात्रै महिलाले नेतृत्व गर्ने अवसर पाएका हुन् । अधिवेशनबाट बबई गाउँपालिका– ७ मा रुपा राना अध्यक्ष हुनुभएको छ । उहाँ बबई– ७ को वडा सदस्य र गाउँपालिकाको कार्यपालिका सदस्य हुनुहुन्छ ।

त्यस्तै दङ्गीशरण गाउँपालिका–१ को अध्यक्षमा ३६ वर्षीया दिलकुमारी पुन सर्वसम्मतरुपमा चयन हुनुभएको हो । उहाँ गृहिणी हुनुहुन्छ । घोराही उपमहानगरपालिका–१ को अध्यक्षमा टोपाकुमारी पौडेल सर्वसम्मत निर्वाचित हुनुभएको छ । उहाँ वडा सदस्य र उपमहानगरपालिकाको कार्यपालिका सदस्य पनि हुनुहुन्छ ।

त्यस्तै घोराही–४ मा लीला गोतामे अध्यक्ष हुनुभएको छ । गोतामे निर्वाचित वडा सदस्य हुनुहुन्छ । गढवा गाउँपालिका– ४ मा सीता थापा वडाध्यक्ष हुनुभएको छ । थापा रेडक्रसकर्मीसमेत हुनुहुन्छ ।

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशनबाट दाङमा भने एक महिला वडाध्यक्षमा निर्वाचित हुनुभएको हो । शान्तिनगर गाउँपालिका–३ की पार्वती पुन वडाध्यक्षमा निर्वाचित हुनुभएको हो ।

एमालेका जिल्ला अध्यक्ष टीकाराम खड्काले यसपटकको वडास्तरको अधिवेशन ऐतिहासिकरुपमा सम्पन्न भएको बताउनुभयो । त्यस्तै उहाँले अधिवेशनमा अधिकतम महिलालाई ३३ प्रतिशत नघट्ने गरी प्रत्येक कमिटीमा समावेश गरेको जिकिरसमेत गर्नुभयो ।