May 18, 2024, Saturday
५ जेष्ठ २०८१, शनिबार

‘लोकप्रिय सरकार सञ्चालन गरेर क्रान्ति सफल हुनसक्छ’

नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले नेकपा एमालेले नेपालमा लोकप्रिय सरकार सञ्चालन गरेर पनि क्रान्ति सफल हुनसक्छ भनी प्रयोग गरेको बताउनुभएको छ । प्रेस चौतारी काठमाडौँको पाँचाँै अधिवेशनको उद्घाटन कार्यक्रममा उहाँले पार्टीले सरकार सञ्चालन गर्दा धेरै उपलब्धि हासिल गरेको बताउनुभयो । एमालेले सरकार सञ्चालन गर्दा धेरै सकारात्मक काम गरे पनि त्यो बिकाउन नसकेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “बोल्नेको पिठो बिक्छ र नबोल्नेको चामल बिक्दैन भन्ने उखान छ, हामीले बासमती चामल पनि बेच्न सकेका छैनौँ ।”

Advertisement

प्रेस चौतारी नेपालले देशको स्वाधीनता, स्वायतत्ता र देशभक्तिका पक्षमा कलम चलाउनुपर्ने पार्टीका प्रचार तथा प्रकाशन विभागका प्रमुखसमेत रहनुभएका गुरुङको जोड छ । सङ्गठन अरु २१ वटा जनवर्गीय सङ्गठभन्दा फरक भएर काम गर्नुपर्ने उहाँले औँल्याउनुभयो । एमाले सरकारले अघि सारेका धेरै जनतासँग जोडिने कार्यक्रमले अहिले निरन्तरता नपाएको उहाँको भनाइ छ ।

पार्टीका विदेश विभाग प्रमुख डा राजन भट्टराईले पार्टी अध्यक्ष केपी ओली नेतृत्वको सरकारले आगामी निर्वाचनमा हामीले यी काम गरेका थियौँ भनी देखाउन सक्ने काम गरेको बताउनुभयो । प्रचार तथा प्रकाशन विभागका उपप्रमुख विष्णु रिजालले मिडियाले निर्माण गर्ने विचारले नै पार्टीको छवि निर्माणमा भूमिका खेल्ने बताउनुभयो ।

प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले सङ्गठले विगतदेखि नै निर्वाचनको समयमा पार्टीलाई सहयोग गर्दै अघि बढिरहेको बताउनुभयो । एमाले काठमाडौँ अध्यक्ष दीपक निरौलाले पार्टी र सङ्गठनबीच सुमधुर सम्बन्ध हुनुपर्नेमा जोड दिनुभयो ।