April 27, 2024, Saturday
१५ बैशाख २०८१, शनिबार

एमाले महाधिवेशन आज उद्घाटन- पाँच लाख कार्यकर्ता सहभागी हुने

नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशन आज मध्यान्ह चितवनको नारायणी किनारमा निर्मित विशेष मञ्चमा उद्घाटन हुँदैछ ।

Advertisement

उद्घाटनका लागि सबै तयारी पूरा भएको र उद्घाटनमा पाँच लाखभन्दा बढी जनसहभागिता हुने नेकपा एमालेले जनाएको छ । महाधिवेशनमा दुई हजार १७५ प्रतिनिधि र १०३ पर्यवेक्षक सहभागी हुनेछन् ।

महाधिवेशनमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित विभिन्न दलका नेताले शुभकामना सम्बोधन गर्ने कार्यक्रम छ । सभामा बङ्गलादेश, श्रीलङ्का, कम्बोडियालगायत देशबाट राजनीतिक दलका प्रतिनिधि आउनेछन् । चिनियाँ कम्युनिष्ट पार्टीको भिडियो सन्देश प्राप्त भएको छ भने विभिन्न देशका राजनीतिक दलका शुभकामना सन्देश प्राप्त भएका छन् ।

‘जनताको बहुदलीय जनवादलाई सुदृढ गर्दै त्यसको मार्ग निर्देशनमा समाजवादको आधार निर्माण गरौँ’ भन्ने भन्ने नारा एमालेले अघि सारेको छ । नयाँ नेतृत्वका लागि आयोजित महाधिवेशनको बन्दसत्र सौराहामा हुनेछ ।

महाधिवेशन उद्घाटन स्थल सिँगारिएको छ। ध्वजापताका टाँगिएका छन्। भरतपुरका ठाउँठाउँमा स्वागत गेट बनाएर ब्यानर टाँगिएका छन्। आज दिउँसो १२ बजे भरतपुरस्थित नारायणी नदी किनार मैदानमा महाधिवेशन उद्घाटन कार्यक्रम हुनेछ।

‘पाँच लाख कार्यकर्ता उद्घाटन सत्रमा सहभागी हुनेछन्’, महाधिवेशन प्रचार समिति संयोजक योगेश भट्टराईले भने, ‘नारायणी नदी किनारमा शुक्रबार मानव सागर उर्लनेछ ।’ उनका अनुसार महाधिवेशन उद्घाटनअघि गैंडाकोट र भरतपुरका गरी विभिन्न सात स्थानबाट र्‍याली निकालिनेछ। चितवनमा ठूलो संख्यामा कार्यकर्ता उतार्न एमालेले जिल्ला–जिल्लाबाट बस रिजर्भ गरेर ल्याएको छ।