May 10, 2024, Friday
२८ बैशाख २०८१, शुक्रबार

नेपाल समुहले सामूहिक राजिनामा नदिएसम्म काँग्रेसले सरकारको दावी नगर्ने

काठमाडौं ।   प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले नेकपा एमाले (माधव पक्षका) सासंदहरुको सामूहिक राजीनामा नआएसम्म सरकारको दावी नगर्ने भएको छ ।

Advertisement

सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको काँग्रेस पदाधिकारी बैठकले माधव नेपाल समूहका सासंदहरुको सामूहिक राजीनामा नआएसम्म सरकारको दाबी नगर्ने निर्णय गरेको बैठकमा सहभागी एक नेताले बताउनुभयो । उक्त बैठक बस्नुअघि देउवाले मा‌ओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नुभएको थियो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले २०७५ जेठ २ मा फर्कने प्रतिवद्धता नजनाए आजै सांसदहरुको सामूहिक राजीनामा दिने तयारी गरेको खनाल– नेपाल समूह अलमलमा परेको छ । प्रधानमन्त्री ओलीले बरिष्ठ नेता माधवकुमार नेपालसँग चपलीहाइटस्थित रामेश्वर थापाको घरमा लामो वार्ता गरेपछि संसद सचिवालयमा राजीनामा बुझाउने कार्यालय समय सकिएको छ ।

यसअघि माधव नेपाल समूहले ओलीलाई जेठ २ मा फर्कन बेलुका ४ बजेसम्मको अल्टिमेटम दिएको थियो । तर, ओली र वरिष्ठ नेता नेपालबीच बूढानीलकण्ठस्थित चपली हाइटमा २ बजेदेखि नै वार्ता चलिरहेको छ । सांसदहरुको राजीनामा नेता नेपालकै खल्तीमा रहेको बताइएको छ । बिहीबारको कार्यालय समय अपरान्ह ५ बजे सकिएसँगै संसद सचिवालयका कर्मचारीहरु कार्यालय बन्द गरेका छन् ।

उता राष्ट्रपति कार्यालयका कर्मचारीहरुले भने राति ९ बजेसम्म काँग्रेस–माओवादी गठबन्धनलाई कुर्ने भएका छन् । सरकार गठनको दाबी गर्ने समय आज राति ९ बजेसम्म तोकिएकाले काँग्रेस सभापति देउवाको टोली शीतलनिवास आउन सक्ने भन्दै राष्ट्रपति कार्यालयका कर्मचारीहरु कुरेर बसिरहेका छन् ।

बेलुकासम्म बहुमत जुटाउनको लागि काँग्रेस र मा‌ओ‌वादीका नेताहरु लागिरहेका छन् भने एमाले ‌ओली पक्ष जसपाको एक गुटलाई आफ्नो साथमा लिएर जसरी हुन्छ विपक्षीहरुको संख्या १३६ नपुर्‍याउनेमा लागिपरेको छ । माधव कुमार नेपाल र प्रधानमन्त्री केपी शर्मा ओली क्याप्टेन रामेश्वर थापाको घरमा बिहानदेखि नै बैठकमा बसिरहेका छन् भने जसपाका १३ सासंदलाई भक्तपुरको एक रिसोर्टमा राखिएको छ ।

काँग्रेसका ६१ र मा‌‌ओवादीका ४९ सभामुख सहित सासंदले जम्मा ११० पुग्छ उनीहरुले १३६ सासंद नपुर्‍याएसम्म नयाँ सरकारको ढोका खुल्दैन । सिंगो जसपा एकैठाउँमा नहुँदा र एमालेका माधव पक्षका सासंदहरुले सामूहिक राजिनामा नगर्दासम्म बहुमतको सरकार बन्नै सक्दैन ।