May 3, 2024, Friday
२१ बैशाख २०८१, शुक्रबार

कांग्रेसको १४ औं महाधिवेशन भदौ १६ बाट १९ गते सम्म

नेपाली कांग्रेसको महाधिवेशनको मिति सर्ने भएको छ । शनिवार पार्टी सभापति निवाश बुढानीलकण्ठमा बसेको पार्टी पदाधिकारी बैठकले भदौ ७ देखि १० गते सम्म गर्ने भनेको महाधिवेशन ९ दिन पर सार्ने प्रस्ताव गरेको छ ।

Advertisement

कोरोना संक्रमणको जोखिम सँगै पार्टीको क्रियाशील सदस्यको टुङ्गो लगाउन नसकिए पछि पुर्व घोषित मितिलाई ९ दिन पर सरिएको हो । आजको पदाधिकारी बैठकले आगामी भदौ १६ गते देखि १९ गते सम्म महाधिवेशन गर्ने मिति केन्द्रिय समितिमा प्रस्ताव गर्ने निर्णय गरेको छ । पदाधिकारी बैठकपछि सहमहामन्त्री डा प्रकाश शरण महतले महाधिवेशनको मिति सरे सँगै निर्वाचन केन्द्रित केन्द्रिय गतिविधि र जिल्ला नगरका अधिवेशनको पनि समय तालिका हेरफेर प्रस्ताव गरेको बताउनु भयो ।

यसअघि असार ६ गते हुने भनिएको गाउँ नगर वडा अधिवेशन अब साउन ६ गते हुने प्रस्ताव गरिएकोछ । गाउँ र नगरपालिका अधिवेशन साउन ११ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन १६ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन तथा एक प्रतिनिधिसभा क्षेत्र भएका जिल्लाको अधिवेशन साउन २० गते हुने प्रस्ताव गरिएकोछ ।

त्यस्तै एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लामा साउन २४ गते जिल्ला अधिवेशन हुनेछ । संशोधित तालिका अनुसार प्रदेश अधिवेशन २०७८ भाद्र १ र २ गते हुनेछ ।पदाधिकारीले संसोधन प्रस्ताव गरेको समय तालिकामा क्रियाशील सदस्यता छानबिन समितिले अन्तिम सदस्यता सूची २०७८ साल असार २० गतेभित्र केन्द्रीय समितिमा बुझाउने र केन्द्रीय समितिको बैठकले क्रियाशील सदस्यताको अन्तिम सूची २०७८ असार २४ गतेभित्र केन्द्रीय निर्वाचन समितिलाई बुझाउने हुने प्रस्ताव गरिएकोछ ।

कोभिड संक्रमणको जोखिम बढे सँगै नेपाली कांग्रेसले आफ्नो महाधिवेशनको डिजिटल प्रविधि मार्फत गर्न सकिन्छ भनेर कांग्रेस समर्थित युवा बिद्यार्थी भन्दै आएका छन् । कांग्रेसको केन्द्रिय तहको बैठकमा डिजिटल प्रविधि मार्फत महाधिवेशन गर्ने बारे कुनै छलफल नै भएको छैन । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आगामी असार ३ गते दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्ने गरि बोलाएको छ ।