April 29, 2024, Monday
१७ बैशाख २०८१, सोमबार

नेकपा विभाजन: निर्वाचन आयोग आफैं अन्योलमा

पौष २३ । विवादित नेकपाका दुवै पक्षमा देखिएको ‘संस्थापन पक्ष’/‘मूल पार्टी’ बनिरहने मोहले पार्टी विभाजनको कानुनी प्रक्रिया नै अन्योलमा परेको छ । राजनीतिक दलसम्बन्धी ऐनले तोकेको व्यवस्थाअनुसार दलमाथि आधिकारिकताको मागदाबी गर्न कुनै पनि पक्ष निर्वाचन आयोग पुगेका छैनन् । नेकपाको लेटरप्याडमा भिन्न समूहबाट आयोगमा थरीथरीका पत्राचार भइरहे पनि पार्टी विभाजनलाई प्रक्रियामा लैजाने गरी निवेदन र आधार–प्रमाण हाल सम्म पेश गरिएको छैन ।

नेकपाका दुई पक्षले एउटै झन्डा र चिह्न प्रयोग गरेर अलग–अलग कार्यक्रम गरिरहेका छन् । केन्द्रीय कमिटी बैठक अलग–अलग बसेका छन् । एक पक्षले अर्को पक्षका नेताहरूलाई तथानाम आक्षेप लगाउने क्रम चलिरहेको छ । पार्टी फुटेको स्विकार्न भने कुनै पक्ष तयार छैनन् । नेकपा विवादलाई नजिकबाट नियालिरहेका राजनीतिशास्त्री भाष्कर गौतम निर्वाचनपूर्व एकढिक्का भएर जाने सन्देश दिएका नेताहरूले यतिबेला त्यसको अपजसबाट बच्न पार्टी फुटको जिम्मेवारी लिन नचाहेको बताउँछन् । “दुवै पक्षमा पार्टी फुटको अपजस नलिने मनोविज्ञान हावी छ, फुटको पहिलो कारक आफू होइन भन्ने देखाउन खोज्दै छन्, आयोगमा दाबी गर्ने पक्षलाई अपजस जाने भय दुवै पक्षमा देखिन्छ । त्यसैले उनीहरूले सबै सँगै छौं, सानो गुट मात्रै उछिट्टिएको भन्ने सन्देश दिन खोजेका छन् ।” गौतमको भनाइ छ । याे खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

Advertisement