May 17, 2024, Friday
४ जेष्ठ २०८१, शुक्रबार

नेपालमा आफ्नो कोरोना खोपको क्लिनिकल ट्रायल गरेको भनी भारत झुट बोल्दै

काठमाडौं । भारतिय खोप उत्पादक कम्पनी भारत बायोटेकले नेपालमा पनि कोरोना खोप ‘कोभ्याक्सिन’ क्लिनिकल ट्रायल चलिरहेको झूटो दाबी गरेको पाइएको छ ।

Advertisement

कम्पनीका प्रबन्ध निर्देशक कृष्ण एम ऐल्लाले अघिल्लो सोमबार कम्पनीद्वारा उत्पादित कोभ्याक्सिनको तेस्रो चरणको क्लिनकल ट्रायल नेपाललगायत विभिन्न १२ मुलुकमा चलिरहेको दाबी गरेको थिए । तर, कम्पनीले नेपालमा कोरोना खोपका क्लिनिकल ट्रायलका लागि हालसम्म अनुमति लिएको देखिंदैन ।

यता नेपालको कानुनका अनुसार कुनै पनि खोपको परीक्षण गर्नुअघि अनिवार्य रूपमा पूर्वस्वीकृति लिनुपर्छ । अनुमति नलिएको हुँदा नेपालको स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार भारत बायोटेक मात्र नभएर अन्य कुनै पनि कम्पनीले क्लिनिकल परीक्षणका लागि अनुमति लिएका छैनन् ।

आइतबार मात्र भारत सरकारको बायोटेकद्वारा उत्पादित कोरोना खोप कोभ्याक्सिनलाई आपत्कालीन प्रयोगका लागि अनुमति पाएको थियो । उक्त खोपको विकास बायोटेक र भारतको स्वास्थ्य अनुसन्धान परिषद्को सहकार्यमा गरिएको हो ।

कोभ्याक्सिनसँगै अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनेकाले विकास गरेको एवं सेरम इन्स्टिच्युट अफ इन्डिया (सआईआई) द्वारा उत्पादित कोभिसिल्डले पनि भारत सरकारको नियामक निकायबाट आपत्कालीन प्रयोगको अनुमति पाइसकेको जनाइएको छ ।

हालसम्म दुवै खोपको प्रभावकारितालाई लिएर सुरुदेखि नै विवाद हुँदै आएको थियो । सरकारले यी खोपले अनुमति प्राप्त गर्नका लागि पेस गरेका क्लिनिकल ट्रायलको डाटा सार्वजनिक नगरेका कारण पनि शंका उत्पन्न भएको हो । यो खबर आजको कान्तिपुर दैनिकमा रहेको छ ।