May 17, 2024, Friday
४ जेष्ठ २०८१, शुक्रबार

जोखिमयुक्त जुगलका दुई बस्तीलाई अन्यत्र सार्न सिफारिस

पुस २२ । गत समयको वर्षामा बाढीपहिरोबाट ठूलो जनधनको क्षति बेहोरेको सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको लिदीलगायतका जोखिममा रहेका बस्ती स्थानान्तरण गर्न विज्ञ समूहको टोलीले सिफारिस गरेको छ । बाढीपहिरोले वर्षाको समयमा सिन्धुपाल्चोकमा ठूलो जनधनको क्षति भएपछि सरकारले सिन्धुपाल्चोक र बागलुङलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो । असार–साउनमा गएको पहिरोले जुगल गाउँपालिकाको लिदीमा मात्रै ३९ जनाको मृत्यु भएपछि सरकारले सो क्षेत्रलगायत आसपासका जोखिम बस्तीको भौगर्भिक अध्ययनका लागि विज्ञको टोली एक महिनाअघि पठाएको थियो ।

यस्तै पुनर्निर्माण प्राधिकरण र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका विज्ञको टोलीले एक सातासम्म जुगल गाउँपालिकाका चार जोखिम बस्तीको स्थलगत अध्ययन गरेको थियो । स्थलगत अध्ययन गर्न गएको टोलीले पुनर्निर्माण प्राधिकरण र विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई अध्ययनको निष्कर्षसहितको प्रतिवेदन हस्तान्तरण गरिसकेको छ । विज्ञको टोलीमा पुनर्निर्माण प्राधिकरणका तर्फबाट सहभागी जिल्ला आयोजना कार्यान्वयन इकाइका प्रमुख सन्तोष निरौलाले मंगलबार पत्रकार सम्मेलन गरेर अध्ययन गरिएका चार बस्तीमध्ये दुई बस्ती उच्च जोखिममा रहेको निष्कर्ष निकालिएको बताए ।

उक्त स्थानमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अगुवाइमा भूगर्भविद्, जिओटेक इन्जिनियर, सहरी योजनाकार, नापी अधिकारीलगायत विज्ञ सम्मिलित प्राविधिक टोलीले अध्ययन गरेको थियो । यस वर्षको वर्षाको समयमा पहिरोबाट ३९ जनाको ज्यान गएको लिदीमा अब बस्ती बसाल्न नसक्ने अध्ययनबाट देखिएको प्रमुख निरौलाले जानकारी दिए । लिदीमा १ सय ७२ घरधुरी थिए । खेतीपाती गर्न मिल्ने भए पनि लिदीमा फेरि बस्ती राखियो भने योभन्दा ठूलो जनधनको क्षति हुने प्रमुख निरौलाको भनाइ छ । यसर्थ सन्चगाउँ र ठूलो नाम्फामा केही सुरक्षाका सावधानी अपनाएर बस्ती बसाउन सकिने निरौलाको भनाइ छ । यो समाचार राजधानी दैनिकमा रहेको छ ।

Advertisement