May 16, 2024, Thursday
३ जेष्ठ २०८१, बिहीबार

प्रचण्ड-नेपाल गुटमा पद बाँडफाड

पौष २० । दाहाल–नेपाल समुहको नेकपा पार्टी बैठकमा दुवै अध्यक्षले आलोपालो अध्यक्षता गर्न सुरु गरेका छन् । अध्यक्षद्धय पुष्पकमल दाहाल र माधव नेपाल बराबरी हैसियतमा रहने व्यवस्थाअनुसार आलोपालो अभ्यास सुरु भएको हो । आइतबारको बैठकको अध्यक्षता अध्यक्ष नेपालले गरेका हुन् । गत पुस ७ र ९ गते स्थायी समिति बैठकको अध्यक्षता दाहालले गरेका थिए । पार्टी केन्द्रीय नेताहरूको कार्यविभाजन र एकता एकीकरणका बाँकी काम सम्पन्न गर्ने गरी प्रस्ताव तयार पार्न दाहाल–नेपाल समूहको स्थायी समिति बैठकले अध्यक्ष माधव नेपालको संयोजकत्वमा शक्तिशाली कार्यदल गठन गरेको छ ।

आइतबार जनवर्गीय संगठनको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले नेपालको संयोजकत्वमा १० सदस्यीय कार्यदल गठन गरेको स्थायी समिति सदस्य पम्फा भुसालले बताइन् । कार्यदलमा स्थायी समिति सदस्यहरू गिरिराजमणि पोखरेल, पम्फा भुसाल, गोकर्ण विष्ट, घनश्याम भुसाल, जनार्दन शर्मा, वर्षमान पुन, सुरेन्द्र पाण्डे, वेदुराम भुसाल र शक्ति बस्नेत छन् । यो कार्यदलले सात दिनभित्र गृहकार्य गरी प्रस्ताव तयार पार्नेछ । सकेसम्म छिटो गर्ने गरी बढीमा सात दिनभित्र कार्यविभाजन गर्ने गरी कार्यादेश तोकिएको नेतृ भुसालले जानकारी गराइन् । कार्यदलले केन्द्रीय सदस्य, प्रदेश पदाधिकारीलगायतका नेताहरूको समेत कार्यविभाजन प्रस्ताव तयार पारिने बताइएको छ । यो खबर आजको अन्नपूर्ण पोस्ट् दैनिकमा प्रकाशित छ ।

Advertisement