May 5, 2024, Sunday
२३ बैशाख २०८१, आईतवार

आफ्नो समूहलाई पार्टीको आधिकारिकताका दिन प्रचण्ड-नेपाल निर्वाचन आयोग जाँदै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल आफू नेतृत्वको समूह वैधानिक भएको हस्ताक्षर सहित आज (बुधबार) निर्वाचन आयोग जाने भएका छन् ।

Advertisement

प्रचण्ड-नेपाल पक्षले ३१५ केन्द्रीय समिति सदस्यको हस्ताक्षरसहितको विवरण निर्वाचन आयोगमा बुझाउने भएको हो । आफ्नो समूह वैधानिक नेकपा रहेको जानकारी र प्रमाण तथा मंगलबार केन्द्रीय समिति बैठकले गरेको निणर्यसहित उनीहरू आयोगमा जान लागेको नेकपाका एक नेताले बताएका छन् ।

यसअघि तत्कालिन एमाले र माओवादी (केन्द्र) एकिकरण भएर नेकपा गठन भएपछि ४ सय ४१ सदस्यको विवरण आयोगमा बुझाइएको थियो । नेकपाको आधिकारिक पार्टी हुन बहुमत सदस्य र ती सदस्यको विवरण, नागरिकतासहित सनाखत हुनुपर्ने प्रावधान रहेको छ ।

यसअघि सोमबार स्थायी समिति सदस्य लीलामणि पोखरेलले निर्वाचन आयोग पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई अध्यक्ष पदबाट हटाइएको र केन्द्रीय सदस्यको बहुमत प्रचण्ड-नेपालका पक्षमा रहेको जानकारी दिएका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि मंगलबार केन्द्रीय सदस्यहरुको नाम थप गरेर निर्वाचन आयोगमा पत्र बुझाएको बताइएको छ ।

निर्वाचन आयोगबाट पार्टीको नाम र चुनाव चिन्ह बहुमत सदस्य भएको पक्षले पाउनेछ ।