May 20, 2024, Monday
७ जेष्ठ २०८१, सोमबार

नेताद्धय नेपाल, खनाल कांग्रेसका सभापति देउवा बिच बुढानिलकण्ठमा भेटवार्ता

काठमाडौं । नेकपा (एमाले) का नेताहरु माधव कुमार नेपाल र झलनाथ खनालले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका छन् । हिजो अपरान्ह नेताद्धय नेपाल र खनालले सभापति देउवाको निवास बुढानिलकण्ठ पुगेर भेटवार्ता गरेका हुन् । उनीहरुबीच पछिल्लो राजनीतिक अवस्थाबारे कुराकानी भएको थियो । पार्टी अध्यक्ष ओलीले नेताद्धय नेपाल र खनालसहित २७ जना सांसदहरुलाई स्पष्टीकरण सोधेको बेलामा सभापति देउवासँग भएको आजको भेटलाई अर्थपूर्ण रुपमा लिईएको छ ।

Advertisement

यसअघि पनि नेता नेपालले सभापति देउवासँग एक्लाएक्लै भेटवार्ता गरेका थिए । फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलाले नेकपा पूर्ववत अवस्थामा पुगेको छ । एमाले र माओवादी केन्द्र अलग अलग भएपछि एमालेमा फर्किएको माधव नेपाल पक्ष अहिलेपनि राजनीतिक रुपमा अत्यन्तै कठिन मोडमा पुगेको छ ।

ओलीले फागुन २८ गतेपछि गरेका सबै निर्णय खारेज हुनुपर्ने यो पक्षको अडान थियो । तर, ओली निर्णय फिर्ताको साटो झनै आक्रामक रुपमा प्रस्तुत भएपछि नेपाल समूहले देशव्यापी रुपमा समानान्तर गतिविधि सञ्चालन गरेको थियो । ओलीले आजमात्रै माधव नेपाल र झलनाथ खनालसहित ३७ जना सांसदहरुलाई अन्तिम मौका भन्दै स्पष्टीकरण सोधेका थिए । ओलीले सांसद पदबाट कारबाही गर्नेगरि कडा स्पष्टीकरण सोधेपछि यो पक्षका सांसदहरु आज बानेश्वसरको अर्याल होटेलमा छलफलमा जुटेका थिए । उनीहरुले ओलीले सोधेको स्पष्टीकरणको जवाफ व्यक्तिगत रुपमा दिने र कारबाही गरे कानूनी उपचार गर्ने निश्कर्ष निकालेका थिए ।

यता, नेता नेपाल र खनाल भने प्रधानमन्त्रीबाट ओलीलाई हटाउनको लागि छलफल र सहमति गर्नको लागि आज देउवा निवास पुगेको स्रोतको दाबी छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि ओलीलाई विदाई गर्न कांग्रेस, माओवादी केन्द्र र जसपा सहमत भएको जनाउँदै आएका छन् । तर, अहिलेसम्म दाहाल नेतृत्वको माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन कायमै राखेको छ । देउवाले ओली अहिलेपनि बहुमतको सरकारको नेतृत्व गरिरहेकोले अविश्वासको प्रस्ताव ल्याउनुभन्दा अघि नै माओवादीले समर्थन फिर्ता लिनुपर्ने अडान राखेका छन् ।

ओलीले भने आफूविरुद्ध अविश्वासको प्रस्ताव आउने तयारी भएको र उक्त प्रस्ताव पारित गराउन जति संख्या आवश्यक पर्छ त्यति नै जना माधव नेपाल पक्षधर सांसद तयार रहेको थाहा पाएपछि आज सांसद पदसमेत नरहनेगरि कारबाही गर्न आज स्पष्टीकरण सोधेको स्रोतको दाबी छ । तर, नेपाल पक्षले भने सांसद पद नजानेगरि रित पुर्याएर जवाफ दिने तयारी गरेको छ । तर, ओलीले बलपूर्वक हटाए कानूनी उपचारमा जाने पनि नेपाल पक्षधर सांसदहरुले चेतावनी दिएका छन् ।