May 14, 2024, Tuesday
१ जेष्ठ २०८१, मंगलवार

मलाई सरकार जान्छ कि भन्ने कुनै पिर पनि छैन- प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास विरोधी र अस्थिरता निम्त्याउन खोज्नेहरु सरकार परिवर्तनको खेलमा लागेको आरोप लगाएका छन् । नेपाली काँग्रेससहित माओवादी केन्द्र र जसपाबीच वैकल्पिक सरकार गठनका लागि औपचारिक छलफल सुरु भएको भोलिपल्ट प्रधानमन्त्री ओलीले आक्रोश पोख्दै उनीहरुलाई यस्तो आरोप लगाएका हुन् ।

Advertisement

शनिबार नेपाल उद्योग वाणिज्य महासंघको ५५औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले उल्लेख्य काम गरिरहेको बताउदै अहिले सरकार परिवर्तन गर्न खोजिएको भन्दै उनले भने, ‘सरकार किन परिवर्तन गर्नुपर्‍यो ? पुनर्निर्माणका काम अघि बढिरहेकाले हो ? कि अरु केही कारण छन् ?’

भूकम्पले ध्वस्त बनाएका संरचनाहरूको पुनर्निर्माण, अस्पताल र बाटाहरु निर्माणका लागि सरकारले उल्लेखनीय काम गरेको दावी गर्दै उनले विकास विरोधी र मुलुकमा अस्थिरता निम्त्याउन खोज्नेहरू भने सरकारको विकल्प खोज्ने तर्फ उन्मुख भएको टिप्पणी गरे । उनले त्यस्ता क्रियाकलापमा संलग्नहरुलाई “शकुनी”को संज्ञा दिए ।

उनले संसदीय अंकगणितलाई दुरुपयोग गर्ने “शकुनीका गोटी” नै आफूले फ्याँकिदिने चेतावनी दिए । एक हप्तामा ८ औद्योगिक क्षेत्र तथा एकैदिन ३०९ वटा अस्पताल, १६५ सडक शिलान्यास गरेको भन्दै प्रधानमन्त्री ओलीले मुलुकमा अस्थिरता ल्याउन खोज्नेहरुले संसदीय अंकगणितलाई व्यक्तिगत स्वार्थमा दुरुपयोग गर्न खोजेको बताए ।

मलाई सरकार जान्छ कि भन्ने कुनै पिर पनि छैन । पहिले पनि म सरकारबाट हटाइएको हुँ । फेरि जनताले ल्याए । केही छैन १८/२० महिना होला । त्यसपछि फेरी यस्तो अंक गणितलाई वरपर पार्न खोज्ने खालका शकुनीका गोटी पनि फ्याँकिने छन् । गोटी नै फ्याक्दिएपछि सकुनीले के लडाउँछ ?’प्रधानमन्त्री ओलीले उद्योग व्यवसाय विस्तार र विकासमा देखिएका समस्या समाधान गर्न सरकार तयार रहेको बताए ।

‘सरकारले गर्नुपर्ने के हो ? पिनप्वाइन्ट चाहिन्छ’ उनले भने, ‘उद्योग स्थापना, सञ्चालन, कच्चा पदार्थ आयात, निर्यातमा विलम्ब भएको छ वा व्युरोक्र्याटिक हडल्सहरु छन् भने लेखेर दिनुस् ।’

प्रधानमन्त्री ओलीले वैदेशिक लगानीका लागि सरकारले तोकेको सीमा सही र यथार्थपरक रहेको दाबी गरे ।‘भुटानले दिनको यति डलर खर्च नगर्ने पर्यटकलाई पस्न दिन्न भन्छ, दिंदैन पनि । माल्दिभ्सले सबै कुरा यही पाइन्छ, पैसा भरेको एउटा कार्ड मात्र बोकेर आऊ भन्छ’ भुटान र माल्दिभ्सको उदाहरण दिंदै उनले भने, ‘५ लाख डलर पनि इन्भेष्ट नगर्नेले के गर्छ ? दारी काट्ने ? ५० हजार लिएर आउने प्लेन भाडा पनि कमाएर लिएर जाने हो भने यसले देशलाई योगदान गर्छ र ?

उनले अघि भने, ‘पीठो बोकेको हुन्छ, खुर्सानी पनि बोकेको हुन्छ । स्टोभ पनि बोकेको हुन्छ । मट्टीतेलको ग्यालन पनि बोकेको हुन्छ । पशुपतिको दर्शन गर्छ । अलिकति हाम्रो खर्च बढाउँछ, जान्छ । हामीले खोजेको टुरिजम यो हो र ? यो त धर्मकर्म गर्ने र पुण्य कमाउने मान्छेको कुरा हो । खर्च गर्ने मान्छेको कुरा होइन । हामीले टुरिस्ट खोजेको हो, इन्भेष्टर खोजेको हो ।’सम्मृद्ध नेपाल सुखी नेपालीको लक्ष्य हासिल गर्नका लागि उद्योग व्यवसायलाई सबै ढंगले सुदृढ बनाउनुपर्ने भन्दै उनले सम्मानित उद्योग व्यवसाय, सम्मुनत नेपालको मर्म अनुसार अघि बढ्नुपर्नेमा जोड दिए ।

उनले उद्योग व्यवसाय विस्तार र विकासमा देखिएका समस्या समाधान गर्न सरकार तयार रहेको भन्दै सरकारलाई बुँदागत रुपमा सुझाव दिन आग्रह गरे । उद्योग बाणिज्य महासंघले ल्याएको आर्थिक रुपान्तरण सम्बन्धी प्रतिवद्धता सकारात्मक कदम भएको भन्दै उनले त्यसलाई सफल पार्न सबैले आ–आफ्नो ठाउँबाट योगदान गर्नुपर्ने आवश्यकता औँल्याए ।

सन् २०३० सम्म दिगो विकासका सबै लक्ष्य हासिल गरि विकसित मुलुकको रुपमा उभ्याउने राष्ट्रिय आकांक्षा पुरा गर्ने उद्देश्य साथ सरकार अघि बढीरहेको भन्दै उनले त्यसमा बिलम्ब हुने गरि कसैले काम गर्न नहुने तर्फ सचेत गराए ।