May 7, 2024, Tuesday
२५ बैशाख २०८१, मंगलवार

अम्बाको पात उमाल्ने, गालगुल गर्ने, कोरोना चैट- प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ संक्रमणको जोखिम बढेको भन्दै सावधानी अपनाउन आग्रह गरेका छन् । अहिले नै सतर्कता नअपनाए जनजीवन ठप्प पार्नुपर्ने स्थिति आउनसक्ने उनले बताए ।

Advertisement

नेपाल चेम्बर अफ कमर्सको ७० औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पछिल्लो समय भारतमा कोभिड संक्रमण दर बढ्दै गएको र खुला सीमानाका कारण नेपालमा पनि जोखिम बढेकोले सचेत बन्न आग्रह गरे। उनले भने, ‘कोभिड १९ को सन्दर्भमा म भन्न चाहन्छु, हाम्रो जनजीवनलाई ठप्प पनि नगरौं, तर बाध्य भएरै ठप्प पार्नपर्ने स्थिति आउन सक्छ यदि हामी सावधान भएनौं भने ।

हामी सावधान हुनुपर्छ अहिलेदेखि, दुरी कायम गर्ने, मास्क लगाउने । हामी किञ्चित पनि काभिड–१९ लाई अवसर नदिऔं । यहाँबाट फर्किएपछि हामी सबैले हातमुख राम्रोसँग धोऔं ।’उनले अहिले नै सतर्कता नअपनाए जनजीवन ठप्प पार्नुपर्ने स्थिति आउन सक्ने भएकाले सबैले सचेत भई सावधानीका उपाय अपनाउनुपर्ने बताए।

प्रधानमन्त्री ओलीले तातो पानीको बाफ लिने, नुनपानीले कुल्ला गर्ने बानी बसाल्दा कोभिड संक्रमणबाट जोगिन सकिने पनि बताए।कोभिड-१९ विरूद्धको खोपले पनि सतप्रतिशत काम नगर्ने भएकाले सावधानी अपनाउनु नै सबभन्दा सुरक्षित विधि रहेको बताए।

उनले भने,‘अलि तातोतातो पानी लिँदै ‘नस’ लिँदै नाक स्याकस्याक गरेर सफा गरिदिऔं पहिले गएर नाकमा बस्ने हो कोरोना त्यहीँबाट फालिदिएपछि चैट! नुन पानीले गालगुल गरिदियो, सकिन्छ भने अम्बाका दुइटा पात उमाल्दिऊँ बेसरी गालगुल गरिदिऊँ, घाँटीमा बसेको चट, स्टिम लिइदिऊँ, फोक्सोबाट चट, त्यति गर्दाखेरी धेरै सुरक्षित भइन्छ। अब हन्ड्रेड परसेन्ट सुरक्षित त भ्याक्सिनले पनि गर्दैन।

भ्याक्सिनले पनि केही परसेन्ट सुरक्षित गर्ने हो केही परसेन्ट बाँकी रहन्छ त्यही केही परसेन्टभित्र परियो भने गैगयो नि। त्यसकारण पूर्ण भन्ने कुरा सतप्रतिशत केही पनि छैन तर हामीले सावधानी अपनाउनुपर्छ।’ आफूले कोभिडको बारेमा कुरा गर्दा कतिपयले आफ्नो कुरा गर्नु भन्दै सुझाव दिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले कोभिड नियन्त्रण गर्न नसक्दा पनि आफ्नै आलोचना हुने बताए ।

उनले भने, ‘कतिपयले भन्छन् मलाई, भनिआएका छन्, आफ्नो कुरा गर्नु नि भनेर । आफ्नो कुरा गर्ने भनेको मान्छेले के बुझेका छन् भने मैले राजनीतिक कुरा गर्नुपर्छ । अनि तपाईहरुसँग आएर मैले राजनीतिको के भन्ने ? सङ्गठनात्मक कुरा बताउने कि, राजनीतिक दाउपेचका हामी यहाँ छौं वाला कुरा बताउने कि ? तपाईहरुलाई लड्डु खान सिकाउने कि ? के चाहिँ गर्ने ?’उनले भने, ‘कोभिड १९ को बीचमा पनि हाम्रो अर्थतन्त्र जति अन्यत्र धेरै ठाउँमा धक्का पर्‍यो हाम्रो अर्थतन्त्रमा त्यो धक्का पर्न सकेन।

धक्का परेको छ, पीडा परेको छ, पर्यटन क्षेत्र चौपट भएको छ, होटल व्यवसाय चौपट भएको छ अरू क्षेत्रहरू पनि धेरै नोक्सान परेका छन्। त्यसकारण क्षति नभएको होइन तर फेरि पनि हामीलाई त्यति धक्का परेको छैन जति विभिन्न देशमा परेको छ। एउटा विश्वकै संकटको रूपमा यो महामारी आएको छ र यस महामारीलाई हामीले नियन्त्रण त गरेका छौं।’

प्रधानमन्त्री ओलीले लामो समय बिग्रिएर रहेको अर्थतन्त्रलाई ट्रयाकमा ल्याउन समय लागेको पनि बताए। तर सरकारले निरन्तर काम गरिरहेकोले विकासका क्रियाकलापले गति लिएको बताए।