May 12, 2024, Sunday
३० बैशाख २०८१, आईतवार

पार्टीको अनुशासन उल्लंघन गर्नेलाई कारबाही गर्न २३ सदस्यीय संसदीय बोर्ड समेत गठन

काठमाडौँ । नेकपा एमालेको संसदीय दलको बैठक बालुवाटारमा जारी छ । बैठकले पार्टीको विधान संशोधन संशोधन गर्न कार्यदल निर्माण गरेको बताइएको छ । विधान संशोधन गर्नका लागि तीन सदस्यीय कार्यदल निर्माण गरेको जानकारी दिइएको छ ।

Advertisement

तर उक्त बैठकमा असन्तुष्ट समूह माधव–झलनाथ पक्षका सांसद भने सहभागी छैनन् । तर यसअघि कुनै समूहमा नदेखिएका पूर्वमन्त्री लालबाबु पण्डित पनि संसदीय दलको बैठकमा उपस्थित भएको बताइएको छ । स्रोतका अनुसार विधान संशोधन कार्यदलमा प्रमुख सचेतक विशाल भट्टराई, शेरबहादुर तामाङ र विमला राई रहेका छन् ।

यसका साथै माधव–झलनाथ समूहका सांसदलाइ लक्षित गर्दै पार्टीको अनुशासन उल्लंघन गर्नेलाई कारबाही गर्नका लागि २३ सदस्यीय संसदीय बोर्ड समेत गठन गरिएको जनाइएको छ । तर बैठकमा सहभागी नै नभएका वरिष्ठ नेताहरू माधवकुमार नेपाल र झलनाथ खनाललाइ पनि बोर्ड सदस्यमा राखिएको बताएको छ ।

बोर्डको अध्यक्षमा दलका नेता केपी शर्मा ओली र सदस्यहरुमा वरिष्ठ नेता नेपाल-खनालका अतिरिक्त सुवास नेम्वाङ, विशाल भट्टराई, शेरबहादुर तामाङ, बिमला राई पौड्याल, सुमन प्याकुरेल, राधा ज्ञवाली, विद्या भट्टराई, दामोदर भण्डारी, विन्दा पाण्डेलगायतको नाम रहेको छ ।