April 29, 2024, Monday
१७ बैशाख २०८१, सोमबार

प्रचण्ड-नेपाल समूहले स्थायी र केन्द्रीय समिति बैठक बोलायो

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहले तत्कालै स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको छ । सिंहदरवारमा सोमबार बिहान बसेको सचिवालय बैठकले प्रतिनिधिसभा पुनःस्थापनापछि उत्पन्न राजनीतिक परिस्थितिबारे छलफल गर्न स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

Advertisement

बैठक फागुन १९ गतेका लागि तय गरिएको छ । पार्टी कार्यालय पेरिसडाँडा, कोटेश्वरमा बस्ने बैठकमा सक्कल नागरिकता र पार्टीको परिचय–पत्र सहित अनिवार्य उपस्थित हुन सर्कुलर जारी गरिएको छ । साथै, बैठकले निर्वाचन आयोगमा पार्टीको आधिकारिताबारे पेस गरिएको दावीमा छिटोभन्दा छितो निर्णय गर्न अनुरोध गर्ने निर्णय पनि गरेको छ ।

प्रचण्ड-नेपाल समूहले बहुमत केन्द्रीय सदस्यको बैठक बसी प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीबाट हटाउने र उनको ठाउँमा माधवकुमार नेपाललाई अध्यक्ष बनाउने निर्णय गरेको थियो। आयोगले यो निर्णयलाई मान्यता दिएको थिएन।

यस्तै फागुन १९ अघि नै पार्टी स्थायी समितिको बैठक पनि बस्नेछ । सोमबार नेकपाको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको सचिवालय बैठकले पछिल्ला राजनीतिक घटनाक्रमको सन्दर्भमा छलफल गर्न छिट्टै स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय दलको प्रमुख सचेतकबाट देव गुरुङलाई हटाएको विषयमा समेत बैठकमा छलफल भएको भन्दै प्रवक्ता श्रेष्ठले त्यसको कुनै अर्थ र औचित्य नरहेको निष्कर्ष बैठकले निकालेको जानकारी दिए ।सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गरिदिएपछि सरकारले फागुन २३ गते दिउँसो ४ बजे बैठक बस्ने गरी संसद अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ।