May 16, 2024, Thursday
३ जेष्ठ २०८१, बिहीबार

प्रचण्ड र माधव नेपाल ५०-५० प्रतिशतको भागबन्डामा पार्टी संगठनलाई पूर्णता दिँदै

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले संगठनात्मक संरचनालाई पूर्णता दिन ९ बुँदे मापदण्ड तय गरेको छ ।

Advertisement

२० पुसमा बसेको स्थायी कमिटी बैठकले पार्टी एकताका बाँकी काम टुंग्याउन भन्दै अध्यक्ष माधव नेपालको अध्यक्षतामा कार्यदल बनाएको थियो । नेताहरुको व्यस्तता कारण देखाउँदै कार्यदल तोकिएको समयभन्दा केही ढिला सहमतिमा पुगेको हो ।

शीर्ष तहमा भएको सहमति अनुसार अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले ‘पार्टी कमिटी एवं जनवर्गीय संगठनको रिक्त स्थान पूर्ति तथा एकीकरणका लागि मापदण्ड तथा आधारहरु’मा हस्ताक्षर गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेपछि नेकपामा प्रधानमन्त्री ओली र प्रचण्ड-नेपाल पक्ष गरी दुई समूहले बेग्लाबेग्लै गतिविधि गरिरहेका छन्।व्यवहारमा दुई समूह देखिए पनि कानुनत: नेकपा फुटिसकेको छैन। विभाजित नेकपाले आ-आफ्नो संगठनलाई पूर्णता दिने काम गरिरहेका छन।

मापदण्ड अनुसार प्रदेश र जिल्लाका इन्चार्ज, सहइन्चार्ज एवं पार्टी कमिटीहरु तथा जनसंगठनका पदाधिकारीहरुमा ५०-५० प्रतिशत भाग लगाउने सहमति बनेको हो । साविकको जुन पक्षबाट रिक्त भएको हो त्यही पक्षवाट पूर्ति गरिने छ ।

‘सामान्यता पार्टी कमिटीहरु तथा जनवर्गीय संगठनका विभिन्न तहमा पपदाधिकारी तथा सदस्यहरुमा कमिटीको कुल सदस्य संख्यामा ५०/५० प्रतिशत हुनेगरी गर्ने, विशेष परिस्थितिमा विशेष व्यवस्था गर्न सकिनेछ ,’ मापदण्डमा भनिएको छ।एमाले र माओवादीबीच एकता हुँदा ६०-४० को अनुपातमा एकता भएको थियो ।प्रचण्ड-माधव पक्षले विभिन्न प्रदेश कमिटीमा ९ पदाधिकारी नियुक्त गर्न बाँकी छ। प्रदेश २ का इन्चार्ज सत्यनारायण मण्डल, सहइन्चार्ज प्रभु साह र सचिव सुमन प्याकुरेल पनि ओली पक्षतिरै लागेकाले त्यहाँ सबै पदाधिकारी नियुक्ति गर्न बाँकी छ।

सग्लो नेकपाको जस्तै पदाधिकारी संरचनामा गए पनि उपाध्यक्ष र महासचिव नियुक्त हुन बाँकी छ । महासचिवमा धेरै आकांक्षी भएका कारण विशेष गरी महासचिव नियुक्ति प्रचण्ड-माधव पक्षलाई कठिनाइ भएको छ ।

यस्तो छ मापदण्ड

१ प्रदेश र जिल्लाका इन्चार्ज, सहइन्चार्ज एवं‌ पार्टी कमिटीहरु तथा जनसंगठनका पदाधिकारीहरुमा सामान्यतया साविकको जुन पक्षबाट रिक्त भएको हो त्यही पक्षवाट पूर्ति गर्ने । त्यसो गर्दा सामान्यतया ५० प्रतिशत हुने गरी मिलाउने । पदाधिकारी राख्दा वरिष्ठता, सक्रियता र क्षमतालाई ध्यान दिने ।

२. सामान्यता पार्टी कमिटीहरु तथा जनवर्गीय संगठनका विभिन्न तहमा पपदाधिकारी तथा सदस्यहरुमा कमिटीको कुन सदस्य संख्यामा ५०/५० प्रतिशत हुनेगरी गर्ने, बिशेष परिस्थितिमा बिशेष  व्यवस्था गर्न सकिनेछ ।

३ पार्टी कमिटी तथा जनवर्गीय संगठनका रिक्त स्थान पूर्ति गर्दा साविक घटकको कमिटी र जनसंगठनमा वरियतामा अगाडि रहेकालाई प्राथमिकता दिने । बरियतामा ध्यान दिँदा साविक घटनको सम्बन्धित कमिटी वा संगठनभित्रबाट व्यक्तिको चयन गर्ने र महिला सहभागिता तथा समावेशी सिद्धान्तको अनुशरण गर्ने । विशिष्ट स्थितिमा कमिटी वा संगठनमा नरहेको भएपनि विगतमा पार्टी कमिटी वा संगठनमा काम गरेके वरियताको दृष्टिबाट  योग्य व्यक्तिलाई जिम्मेवारी दिन सकिने ।

४. एकीकरणको काम वा रिक्त पदको पूर्ति गर्दा सम्बन्धित घटकभित्र सामान्यतया वरियताको आधारमा जिम्मेवारी दिनुपर्ने भएपनि विशिष्ट स्थितिमा स्थानीय आयश्यक्ता अनुसार प्रदेश कमिटीले निर्णय गर्नै । यसो गर्दा सकियतालाई ध्यान दिनुका साथै फुट र  गुटमा लागेका अर्को पक्षबाट सिर्जित समस्याको समाधान र चुनौतीको सामना गर्नसक्ने विशेष ध्यान दिने । प्रमुख नेतृत्वलाई माथिल्लो जिम्मेवारी दिनुपर्ने पर्ने अवस्थामा उपयुक्त र सक्षम व्यक्तिलाई सो स्थानको जिम्म्वारी दिने ।

५. पार्टी केन्द्रीय किमिटी सदस्यको रिक्त रहेको ठाउँमा सदस्यहरूको चयन नहुँदासम्म केन्द्रीय निकायले गर्नुपर्ने जिम्मेवारीका लागि केन्द्रीय प्रतिनिधिको रूपमा उपयुक्त ब्यक्तिको मनोनयन गरी सम्बन्धित जिल्ला वा क्षेत्रको जिम्मेवारी दिने ।

६. साविक नेकपा एमाले पक्तिमा रहेको गुट तथा फुटपरस्तहरूले कार्यकताहरुलाई भ्रमित तुल्याउने प्रयास बढी गरिरहेकाले जिम्मेवारी प्रदान गर्दा उक्त भ्रमलार्इ चिर्नसक्ने कुरामा विशेष ध्यान दिने ।

७. पार्टीका केन्द्रीय कमिटी र केन्द्रीय निकाय तथा जनवर्गिय संगठनका केन्द्रमा बाहेक प्रदेश कमिटीका सदस्यहरुको पूर्ति प्रदेश कमिटीको सिफारिसमा केन्द्रले गर्ने, जिल्ला कमिटीको पूर्ति जिल्ला कमिटीको सिफारिशमा प्रदेश कमिटीले गर्ने र मातहत अन्य कमिटीमा रिक्त रहेका सदस्यको स्थान पूर्ति सम्बधित जिल्ला कमिटीले गर्ने । यसरी पूर्ति गर्दा म मापदण्डहरु अनुरुप गर्ने । (संख्या थप गर्नुपर्ने भएमा पार्टी र जनवर्गीय संगठनको विधान अनुरूप सदस्यहरूको मनोनयन गर्ने । त्यसबाट पनि अपुग हुने स्थितिमा केन्द्रमा सुझाव प्रस्ताव पठाउने ।)

८. पार्टी पक्ति उत्साहित हुने, जिम्मेवारी औचित्यपूर्ण देखिने र विद्यमान चुनौतीको सामना गर्नसक्ने स्थिति निर्माण हुनसक्ने गरी नेतृत्व चयन गर्ने कुरामा विशेष ध्यान दिने ।

९. उपयुक्त मापदण्ड र आधारको अवलम्बन गर्दै यथाशीघ्र रिक्त स्थानहरूको पूर्ति गर्ने ।