May 16, 2024, Thursday
३ जेष्ठ २०८१, बिहीबार

हजारौं सहिदले बलिदानी गरेर लेखेको संविधान नै धरापमा – प्रचण्ड

काठमाडौ ।  नेपाल कम्युनिष्ट पार्टी नेपालका अध्यक्ष पुष्पकमल दाहाल ले हजारौं सहिदले बलिदानी गरेर लेखेको संविधान नै धरापमा जाने खतरा बढेको बताउनुभएको छ ।

Advertisement

काठमाडौमा बारबर्दिया नगरपालिकाले आयोजना गरेको “जीवनगाथा” पुस्तक विमोचन कार्यक्रममा उहाँले ठूलो बलिदानपछि प्राप्त भएको उपलब्धि नै गुम्ने खतरा बढेको बताउनुभएको हो । युद्धकालीन समयमा भएको बलिदानीसँगै शान्ति सम्झौता, सेना समायोजन, हतियार व्यवस्थापनका साथै शान्ति सम्झौतालाई सफल पार्न आफूहरुले खेलेको भूमिकालगायतका सबै काम युगान्तकारी भएको उहाँले बताउनुभयो ।

उहाँले पार्टीको नेताको र युद्धको परिकल्पनाकारको हैसियतले आफूले उत्पीडित समुदायको विचार र उत्पीडनलाई उजागर गर्न भूमिका मात्रै खेलेको तर तत्कालीन विद्रोह उत्पीडित समुदायको विद्रोह नै भएको बताउनुभयो ।

युद्धकालीन समय योगदान पुर्याएका व्यक्तित्वका बारेमा विभिन्न पुस्तकहरु प्रकाशित भए पनि सरकारका तर्फबाट वैधानिक ढङ्गले प्रकाशित भएको पहिलो ऐतिहासिक दस्ताबेज भएको भन्दै जीवनगाथा प्रकाशित गर्नेमा बारबर्दिया पहिलो नगरपालिका भएको बताउनु भयो ।

“जीवनगाथा” पुस्तकमा जनयुद्धको तयारीको क्रममा बारबर्दिया जिल्लामा सहिद, ज्यान गुमाएका, बेपत्ता पारिएका तथा घाइते योद्धाहरुको जीवनगाथा सङ्ग्रहित गरिएको छ ।

प्रकाशित जीवनगाथामा ६ सय ८० योद्धाहरुको जीवनी समेटिएको छ । तीमध्ये ३ सय २८ सहिद तथा मारिएका व्यक्तिहरु,२ सय ५० जना बेपत्ता पारिएका व्यक्तिहरु र १ सय २ जना घाइते तथा अपाङ्गगता भएका व्यक्तिहरुको जीवनगाथा छ ।