May 5, 2024, Sunday
२३ बैशाख २०८१, आईतवार

सभामुखद्वारा संवैधानिक निकायहरूमा भएका नियुक्तविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता,पेसी आइतबार

काठमाडौं । विघटित प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति, प्रधानमन्त्री र प्रधानन्यायाधीशसहित ३७ जनालाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन् ।

Advertisement

सर्वोच्च अदालत स्रोतका अनुसार सभामुखको रिटमा बुधवार राष्ट्रपति कार्यालयमा सपथग्रहण गरेका ३२ जना संवैधानिक अंगका प्रमुख र सदस्यहरू सबैलाई विपक्षी बनाइएको छ ।

कानूनी र राजनीतिक विवादका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार अख्तियार, निर्वाचन आयोग लगायतका संवैधानिक निकायहरुमा पदाधिकारी नियुक्त गरेकी थिइन् । त्यसको चौतर्फी विरोध भइरहेको छ ।

अध्यादेशमाफर्त संवैधनिक परिषद् बैठक बोलाएर प्रधानमन्त्रीले आयोगहरुमा ३२ जना पदाधिकारी नियुक्तिका लागि सिफारिस गरेका थिए । परिषद बैठकमा समेत सहभागी नभएका सभामुख सापकोटाले नियुक्तिको सिफारिसलाई असंवैधानिक भन्दै फिर्ता पठाएका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक निकायका प्रमुख र पदाधिकारीको नियुक्ति गरिसकेकी छिन् । उनीहरुको पद तथा गोपनियताको शपथ पनि भइसकेको छ ।

सभामुखले दायर गरेको रिटको पेसी आइतबारलाई तोकिएको छ । सापकोटा आफैं रिट लिएर सर्वोच्च अदालत पुगेका थिए ।

सभामुखले रिटमा बुधवार राष्ट्रपति कार्यालयमा शपथग्रहण गरेका ३२ जना संवैधानिक अंगका प्रमुख र सदस्यहरू सबैलाई विपक्षी बनाएका छन् ।

सभामुख सापकोटासहित विभाजित नेकपाका शशी श्रेष्ठ, रामकुमारी झाँक्री, अमृता थापालगायतका विघटित प्रतिनिधिसभाका सदस्यहरू पनि शपथग्रहण र नियुक्ति बदर गर्न माग गर्दै अदालत पुगेका थिए ।