April 28, 2024, Sunday
१६ बैशाख २०८१, आईतवार

व्यापारीको कन्चटमा पेस्तोल राखेर लुटपाट

पुस १४ । धनगढीमा सोमबार साँझ व्यापारीलाई पेस्तोल र खुकुरी देखाएर लुटपाट गरिएको छ । धनगढी–अत्तरिया ६ लेन सडकको बोराडाँडीमा रहेको न्यू विशाल भण्डार किराना पसलमा प्रहरीको ज्याकेट जस्तो देखिने कपडा लगाएर मोटरसाइकलमा आएका युवकले लुटपाट गरेको पसल सञ्चालकले जानकारी गराएका छन् ।

यादव प्रसाद भट्टले आफ्नै घरमा सञ्चालन गरेको किराना पसलको गल्लामा भएको ५२ हजार नगदसहित रिचार्ज कार्डहरु पेस्तोल र खुकुरी देखाएर लुटिएको बताए । सञ्चालक भट्टका अनुसार उनी किराना पसलमा थिए । छिमेकमा बस्ने एक किशोरी पनि पसलमा हाजमोला किन्न आएकी थिइन् । त्यही बेला मोटरसाइकल ६ लेन सडकमा पार्क गर्दै एक युवक आएर रिर्चाज मागे । रिचार्ज कार्डको रकम दिएनन् । उल्टै गल्लामा भएको ५२ हजार बढी रकम उठाउन थाले । सञ्चालक भट्टले प्रतिकार गर्न खोज्दा कन्चटमा पेस्तोल राखे । किशोरी तर्सिएर भागिन् । उनले परिवारका अन्य सदस्यलाई पसलमा भएको घटनाको बारेमा सुनाइन् । तर बेलासम्म भट्टको पसलमा भएको रकम र रिचार्ज कार्ड लिएर युवक फरार भइसकेका थिए । प्रहरीले थप अनुसन्धान शुरु गरिसकेको छ ।

Advertisement