May 10, 2024, Friday
२८ बैशाख २०८१, शुक्रबार

डिजिटल बैंकिङ्: माछापुच्छ्रे बैंकद्वारा पोखराका विभिन्न ठाउँमा क्युआर सेवा विस्तार

पोखरा । पछिल्लो समय डिजिटल बैंकिङ्मा निकै तिव्रता आएको छ भने सर्वसाधारणको पहुँच पनि बढ्दै गएको छ । यसैक्रममा माछापुच्छ्रे बैंकले पोखरास्थित हङकङ बजार, पोखरेली ट्याक्सी सेवा प्रा लि तथा पोखराकै सिद्दार्थ चोकमा रहेको श्री कम्प्लेक्समा शुक्रबार देखि एकैसाथ क्युआर कोड सेवा सञ्चालनमा ल्याएको छ ।

Advertisement

डिजिटल बैंकिङ्गमा आक्रमक बन्दै देशका हरेक वर्ग र तहकाग्राहक माझ डिजिटल सेवाको पहुँच पुर्याउने उद्देश्यले देशभरका विभिन्न स्थानमा सरल र सहज सेवाविस्तार गर्ने क्रममा माछापुच्छ्रे बैंकले पोखराका तीन स्थानमा एकैपटक क्युआर कोड समुद्घाटन समारोहको आयोजना गरेको हो ।

पोखराको नयाँबजारमा रहेको हङकङ बजारमा शुक्रबार एक कार्यक्रमका बीच नेपाल राष्ट्र बैंकका कामु निर्देशक पुस्कर सुर्खाली तथा माछापुच्छ्रे बैंकका संचालक रोशन केसीले संयुक्त रुपमा उक्त समारोहको समुद्घाटन गरेका थिए ।

यो सेवा संचालनमा आएपछि हङकङ बजार तथा श्री कम्प्लेक्समा तरकारी, फलफूल तथा अन्य कस्मेटिक सामान किन्न जाने उपभोक्ताले मोबाइल बैंकिङ एप्लिकेसन प्रयोग गरी तरकारी किन्न सक्नेछन् । त्यसैगरि पोखरेली ट्याक्सी व्यवसायी अन्तर्गत सञ्चालनमा रहेका ट्याक्सीमा चढ्ने ग्राहकले नगदको सट्टामा क्युआर कोडको प्रयोग गरि ट्याक्सी भाडा तिर्न सक्नेछन् ।

पोखरामा सुरु गरिएको क्युआर कोड सेवाको साथै माछापुच्छ्रे बैंकको क्युआर कोड उपलब्ध भएका व्यवसायिक स्थान वा प्रतिष्ठानहरूको सङ्ख्या करिब नौ हजार पुगेको छ । सो कार्यक्रममा माछापुच्छ्रे बैंकका संचालक, नेपाल राष्ट्र बैंकका प्रतिनिधि, कृषिबजार व्यवस्थापन समितिका प्रतिनिधिहरु, पोखरेली ट्याक्सी सेवामा आवद्ध व्यवसायी तथा स्थानीय व्यापारी लगायतको उल्लेख्य सहभागीता रहेको थियो ।