May 14, 2024, Tuesday
१ जेष्ठ २०८१, मंगलवार

पक्राउ पूर्जी जारी भएपछि श्रीराम सुगर मिल्स उखु किसानलाई भुक्तानी दिन तयार

काठमाडौं । सञ्चालकसहित ३ जनाविरुद्ध पक्राउ पूर्जी जारी भएपछि रौतहटको मह्मदपुर, गुरुडास्थित श्रीराम सुगर मिल्स उखु किसानको बक्यौता रकम भुक्तानी गर्ने तयार भएको छ । मिल्सले विज्ञप्ती जारी गर्दै शुक्रबारदेखि नै किसानहरुको बक्यौता रकम भुक्तानी गर्ने प्रतिबद्धता जनाएको हो ।

Advertisement

उखु किसानलाई भुक्तानी गर्न बाँकी रहेको बक्यौता रकम भुक्तानीका लागि बैंक खातामा रकम जम्मा भइरहेको उद्योगले दाबी गरेको छ । भुक्तानीका लागि कारखानास्थलमा सूचना टाँस गरिएको पनि उद्योगले जानकारी दिएको छ ।

उद्योगले विज्ञप्तीमार्फत् भुक्तानी गर्न बिलम्ब हुँदा उखु किसानमाथि पर्न गएको दुःख तथा असुविधाप्रति क्षमायाचना पनि गरेको छ । उखु उत्पादक संघसहित किसानहरुले बुधबार जिल्ला प्रहरी कार्यालय रौतहटमा ठगी मुद्दा दायर गरेपछि मिल्सका सञ्चालकविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो ।

४६ जना किसानले संयुक्त रुपमा जिल्ला प्रहरी कार्यालय रौतहटमा ठगी मुद्दा दर्ता गराएपछि जिल्ला अदालत रौतहटले श्रीराम सुगर मिल्सका सञ्चालकसहित ३ जनाविरुद्ध पक्राउ पूर्जी जारी गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार श्रीराम सुगर मिल्सका सञ्चालकद्वय हितेश गोल्छा र विशाल अग्रवाल तथा कार्यकारी उपाध्यक्ष पद्मकान्त झाविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो ।

किसानलाई करोडौं रुपैयाँ भुक्तानी दिन बाँकी रहेको अवस्थामा सञ्चालकहरुले गत साउन २१ गते एक सूचना टाँस गरेर मिल्स सधैंका लागि बन्द भएको बताएका थिए । त्यसयता मिल्सका सञ्चालकहरु किसानको सम्पर्कमा समेत आएका थिएनन् ।

उखु उत्पादक संघ रौतहटका वरिष्ठ उपाध्यक्ष रामप्रमोद यादवका अनुसार श्रीराम सुगर मिल्सले आर्थिक वर्ष ०७१/७२ को १२ करोड, ०७५/७६ को २८ करोड ५० लाख र ०७६/७७ को ५० लाख रुपैयाँ गरी उखु किसानलाई ४१ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

श्रीराम सुगर मिल्सले भने गत आर्थिक वर्षमा खरीद गरिएको उखुमध्ये २५ करोड ९० लाख ५३ हजार ५ सय २५ रुपैयाँ मात्रै भुक्तानी गर्न बाँकी रहेको दाबी गरेको छ ।